Logo

राजनीति

कप्तानगञ्ज घटनामा न्यायिक छानबिन समिति गठन गर्न सरकारसमक्ष प्रस्ताव गर्ने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्ज घटनाको छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसमक्ष प्रस्ताव गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गृह मन्त्रालयले गठन गरेको समितिबाट निष्पक्ष र प्रभावकारी छानबिन हुन नसक्ने भन्दै न्यायिक छानबिन समिति गठन आवश्यक रहेको बताए ।

उनले कप्तानगञ्ज घटना गम्भीर प्रकृतिको भएकाले स्वतन्त्र र निष्पक्ष ढंगबाट छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने तथा कानुनबमोजिम दोषीमाथि कारबाही हुनुपर्ने धारणा राखे । उक्त विषय प्रतिनिधिसभा र राष्ट्रिय सभामा उठाउँदै न्यायिक छानबिन समिति गठनका लागि कांग्रेसले दबाब दिने उनले बताए । साथै,यस विषयमा अन्य विपक्षी दलसँग पनि सहकार्य गरिने जानकारी दिए ।

उनले भने,‘ त्यो घटनाको बारेमा गृह मन्त्रालयले बनाएको कर्मकाण्डी समितिले छानबिन गर्न सक्दैन । त्यो गम्भीर घटना हो । त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ । स्वतन्त्र, निष्पक्ष ढङ्गबाट छानबिन हुनुपर्छ ।

त्यो घटनाको छानबिन गरेर सत्य–तथ्य सार्वजनिक गरिनुपर्छ र कानून बमोजिम दोषीलाई कारबाही गर्ने स्थिति बन्नुपर्छ । त्यो विषय प्रतिनिधिसभा र राष्ट्रिय सभामा नेपाली कांग्रेसले उठाउने छ र स्वतन्त्र, निष्पक्ष ढङ्गबाट छानबिन गर्ने न्यायिक समिति बनाउनुपर्ने अडान नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा राख्ने छ ।

त्यो न्यायिक छानबिन समितिको विषय चाहिँ आजको हाम्रो मुख्य प्रस्ताव हो । त्यो प्रस्तावलाई चाहिँ प्रतिनिधिसभा र राष्ट्रिय सभामा उठाउने र त्यस अनुसार समिति निर्माण गर्न दबाब दिने, अरु विपक्षी दलहरूसँग पनि त्यसका बारेमा चाहिँ सहकार्य गर्ने भन्ने एउटा विषय हाम्रो संसदीय दलको बैठकबाट पारित भएको छ ।’

बैठकले सांसद र नागरिकबीचको समन्वयलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदलाई जिल्ला जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

कांग्रेसका तर्फबाट प्रतिनिधित्व भएका तथा प्रतिनिधित्व नभएका जिल्लामा समेत सांसदलाई जिम्मेवारी तोकी नागरिकका आवाज र सरोकार संसदसम्म पुर्याउने उद्देश्यले परिचालन गरिने पौडेलले बताए ।

त्यसैगरी, सांसदका स्वकीय सचिव नियुक्तिका लागि निश्चित मापदण्ड तयार गरी सोही मापदण्डका आधारमा नियुक्तिको प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

कांग्रेसले पार्टी र सांसदबीच समन्वय तथा सांसदहरूको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने अभिमुखीकरण तथा संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । उक्त कार्यक्रममा संसदीय दलका सदस्यहरूको सहभागिता रहने गरी बैठकले अनुमोदन गरेको पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार २०:३६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।