Logo

राजनीति

सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ: सांसद बराल



काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सुस्तामा भारतीय पक्षबाट भएको भनिएको सीमा अतिक्रमणको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल कूटनीतिक पहल गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले भारतीय सेना सिभिल पोसाकमा प्रवेश गरेको र सुस्ताको भूमिमा पुनः समस्या उत्पन्न भएको दाबी गर्दै यस विषयमा सरकारले गम्भीर कदम चाल्नुपर्ने बताए ।

‘आज फेरी देश भूमिमा भारतीय सेनाले सिभिल ड्रेस लगाएर प्रवेश गरेका छन् । र सुस्ताको जमिनमाथि फेरि घाउ, चोट लागेको छ । सुस्तावासीहरूले प्रतिवाद गर्न बाध्य भएका छन् र आज देश फेरि सीमा अतिक्रमणको पीडामा परेको छ । प्रधानमन्त्रीज्यू, यसको संवेदनशीलतालाई महसुस गर्न कति समय यो संसदले खर्च गर्नुपर्ने हो ? कति समय माननीय सदस्यहरूले ध्यान आकृष्ट गर्नुपर्ने हो ? यो अत्यन्त लज्जाको विषय बनेको छ । म यस विषयमा प्रधानमन्त्रीज्यूले देशप्रति आफ्नो भूमिका निर्वाह गरोस्, यसको भूमिकामा अभिलम्ब अगाडि बढ्नुस् भन्ने कुरातर्फ म ध्यान आकृष्ट गराउन चाहन्छु ,’उनले भने ।

सांसद बरालले सुनसरीमा भएको घटनाप्रति पनि सरकारको भूमिकामाथि प्रश्न उठाए । सामान्य विवादलाई समयमै नियन्त्रण गर्न नसक्दा तीन जना युवाको ज्यान गएको उल्लेख गर्दै उनले धार्मिक सद्भाव र सामाजिक शान्तिमा चुनौती उत्पन्न भएको बताए ।

उनले राजनीतिक दल, धार्मिक अगुवा र नागरिकस्तरबाट भएका प्रयासले अवस्था सामान्यतर्फ फर्किएको भए पनि घटनाले दिएको चोट अझै बाँकी रहेको बताए । मृतकका परिवारलाई भेट्ने तथा राहतका प्रयास भए पनि त्यसले पीडितको मन जित्न नसकेको उनको भनाइ थियो ।

उनले भने,‘ सुनसरीमा जे घटना घट्यो, यो घटनाको तत्काल र भरपर्दो शान्ति सुव्यवस्था कायम गर्न नसक्दा आज देशले तीन जना होनहार युवाहरूको कुर्बानी बेहोर्नुपर्यो । यदि त्यो राति भएको सामान्य हातपाईलाई तत्काल शान्ति सुव्यवस्था कायम गर्न सकेको भए आज यस खालको दुखन्त अवस्था हुने थिएन । अहिले देशमा धार्मिक सद्भाव अप्ठ्यारोमा परेको र जनताको बीचमा शान्ति र अमनचयन भड्किएको अवस्था छ । धेरै राजनीतिक दलहरूको प्रयास, धार्मिक नेताहरूको प्रयास, जनताको सद्भावले अहिले यो स्थितिलाई सामान्यीकरण गरिएको दिशातर्फ त अनुभूति भएको छ, तर भित्रभित्रै पोलेका घाउहरू, लागेका चोटहरू, ती घाइतेहरू र अस्पतालमा छट्पटाइरहेका बिरामीहरूको यो अवस्थाबाट बाहिर निस्कन सकेका छैनन् । गृहमन्त्रीज्यूले गएर मृतकहरूका परिवारलाई भेटेर जे प्रयास गर्नुभयो, त्यसले उनीहरूको मनलाई जित्न सकेको छैन ।’

सुनसरी घटनाको छानबिनका लागि न्यायिक समिति गठन गर्नुपर्ने माग गर्दै सांसद बरालले सरकारले गठन गरेको छानबिन प्रक्रियामाथि असन्तुष्टि जनाए । उनले घटनामा जलेका घर, सवारीसाधन र पसलको क्षतिपूर्ति आर्थिक रूपमा गर्न सकिए पनि सामाजिक र भावनात्मक क्षतिको पूर्ति गर्न लामो समय लाग्ने बताए ।

त्यस्तै, विराटनगरका एक उद्योगी परिवारमाथि अनुसन्धान गर्ने क्रममा सरकारले अपनाएको शैलीप्रति पनि उनले आपत्ति जनाए । लामो समयदेखि उद्योग, शिक्षा र व्यवसाय क्षेत्रमा योगदान दिँदै आएको प्रतिष्ठित घरानामाथि बिहानै घेरा हालेर गरिएको अनुसन्धान प्रक्रियाले व्यवसायिक क्षेत्रलाई त्रसित बनाएको उनको दाबी थियो ।

सांसद बरालले देशमा महँगी बढेको, ग्यास आपूर्तिमा समस्या देखिएको तथा विधिको शासन र संवैधानिक प्रक्रियाको प्रभावकारी कार्यान्वयन हुन नसकेको आरोप लगाए ।

उनले सुनसरी घटनामा ज्यान गुमाएका नागरिकको मृत्युको नैतिक जिम्मेवारी गृहमन्त्री र प्रधानमन्त्रीले लिनुपर्ने बताए । घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गरी दीर्घकालीन समाधान खोज्न उनले सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलवार १५:३२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।