काठमाडौं । दोलखाका ४२ वर्षीय मनोज घिमिरे पेसाले सवारी चालक हुन् । आफ्नो पेसा गर्दै हाँसखेलका साथ परिवार पालिरहेका उनले जीवनमा यस्तो विपत्ति आइपर्ला भन्ने कहिल्यै कल्पनासम्म गरेका थिएनन् ।
जब आफ्नै शरीरमा अचम्मको रोग देखियो र पीडा बढ्दै गयो, तब उनले दिनप्रतिदिन बाँच्ने विश्वास नै गुमाउँदै गए । अनेकौं अस्पताल धाए, सयौं उपाय अपनाए अनि हजारौं औषधि खाए । कतिपय ठाउँमा जाँदा त ‘एउटा नसा फुटिसकेको छ, अब अर्को पनि फुट्न सक्छ’ भनेर तर्साइयो पनि ।
त्यो थाहा पाएपछि छोराछोरी र परिवारका सबै सदस्य रुन थाले । जति उपचार गर्दा र औषधि खाँदा पनि दुखाइ घट्नुको सट्टा झन–झन् बढ्दै गयो । रोगले जति च्याप्दै जान्थ्यो, त्यति नै बाँच्ने आशा पनि हराउँदै जान्थ्यो ।
रोगले च्याप्दै गएपछि गाडी चलाउन पनि समस्या भयो । एक वर्ष त उनले काम गर्नै सकेनन् । त्यसपछि उनी जिरीभन्दा ४० किलोमिटर टाढाको विकट ठाउँबाट अनेकौं उपाय लगाएर एम्बुलेन्समा काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोट पुगे । त्यहाँ उनको भेट न्यूरोइन्टरभेन्सन विशेषज्ञ डाक्टर अरुण पौडेलसँग भयो र उनकै टोलीले उपचार सुरु गर्यो ।
त्यहाँ उनको पहिलो अनुभव नै निकै अनौठो भयो । अन्य अस्पतालमा अनेकौं हन्डर र भावनात्मक ठक्कर खाइसकेका घिमिरेलाई केएमसीका डाक्टरको बोल्ने शैली र नर्सहरूको व्यवहार देख्नेबित्तिकै अब भने बाँच्ने आत्मविश्वास बढ्न थाल्यो ।
‘उहाँले ‘तपाईं सही ठाउँमा आइपुग्नुभएको छ, केही हुँदैन, ढुक्क हुनुस्’ भन्नुभएको थियो । उहाँले जस्तो भन्नुभयो, त्यस्तै भयो,’ घिमिरे सम्झन्छन् ।
डाक्टर पौडेलका अनुसार अस्पताल आइपुग्दा घिमिरेको मस्तिष्कमा नसा फुटेर रगतको माकुराको जालोजस्तो भएको थियो । यसअघि पनि एक पटक नसा फुटिसकेको रहेछ ।
मस्तिष्कमा रगत जम्ने र छारे मिर्गी रोग गराउने ब्रेन एभीएम भएका कारण उनी बेलाबेलामा काम्ने र बेहोस हुने गर्थे । त्यसपछि डाक्टरले नयाँ प्रविधिमार्फत खुट्टाबाट तार र पाइप छिराएर जालो भएको स्थानसम्म पु¥याए अनि ओनिक्स एम्बोलाइजेसन गरेर उक्त जालोलाई पूर्ण रूपमा टालिदिए ।
उपचार सफल भएपछि डाक्टर पौडेलले बिरामीले बुझ्ने भाषामा भने, ‘अब त्यो जालो फुट्दैन ।’ त्यसमा घिमिरेले फेरि सोधे, ‘अब त फुट्दैन नि ?’ घिमिरेलाई पूर्ण रूपमा आश्वस्त पार्दै डाक्टर पौडेलले ठट्यौली शैलीमा मुस्कुराउँदै भने, ‘अब जालो नै छैन, के फुट्नु !’
‘डाक्टरको उपचार गर्ने र बिरामीसँग व्यवहार गर्ने शैली एकदमै राम्रो रहेछ । नर्सहरूको व्यवहार त वर्णन गरेर साध्य नै छैन,’ निको भएर घर फर्कने तयारी गर्दै गरेका घिमिरेले दुई हात जोड्दै डाक्टर तथा नर्सहरूलाई हृदयदेखि नै धन्यवाद दिँदै भने, ‘अहिले अस्पतालहरूमा नर्सको यस्तो व्यवहार र स्याहार पाउनु भनेको त भाग्यमै लेखेर ल्याएको हुनुपर्छ ।’ निको भएपछि उनले थपे, ‘अब म बाँच्छु पनि र गाडी चलाएर परिवार पनि पाल्न सक्छु ।’
नेपाली कांग्रेसका नेता तथा समाजसेवी डा.सुनील शर्माद्वारा सञ्चालित केएमसी दुवाकोटमा यस्तो रोगको सफलतापूर्वक उपचार सम्पन्न भएको यो पहिलो केस हो ।
शर्मा प्रतिनिधिसभामा सांसद रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन् । उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन् ।
गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर निःशुल्क स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरणलगायतका कार्य उनका पहिचान बनेका छन् ।




















प्रतिक्रिया