Logo

अर्थ

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ ईभी र प्रविधि सार्वजनिक हुँदै



काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को बढ्दो लोकप्रियताबीच आयोजना हुन लागेको नाइमा मोबिलिटी एक्स्पोमा करिब ४० नयाँ सवारी तथा प्रविधि सार्वजनिक हुने भएका छन्।

आयोजकका अनुसार एक्स्पोमा ५२ स्टलमार्फत ५५ वटा ब्रान्ड सहभागी हुनेछन्। अधिकांश कम्पनीले विद्युतीय सवारी, चार्जिङ प्रविधि र स्मार्ट मोबिलिटी समाधानलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी गरेका छन्।

नाइमा मोबिलिटी एक्स्पोका योजना समिति सदस्य शिशिरकुमार मुरारकाले यसपटक नयाँ मोडल र अत्याधुनिक प्रविधि नै प्रदर्शनीको मुख्य आकर्षण हुने बताए।

उनका अनुसार नेपालमा बिक्री भइरहेका सवारीसँगै भविष्यमा बजारमा आउन सक्ने अवधारणागत (कन्सेप्ट) मोडलसमेत प्रदर्शन गरिनेछ। ‘ग्राहकले एउटै प्लेटफर्मबाट नयाँ प्रविधि, नयाँ मोडल र भविष्यको मोबिलिटीबारे जानकारी पाउनेछन्,’ उनले भने।

उनका अनुसार चीन र भारतमा विकास भइरहेका केही नयाँ ईभी प्रविधि तथा लेफ्ट–ह्यान्ड ड्राइभ मोडलसमेत प्रदर्शनीमा राखिनेछन्, जसले भविष्यमा नेपाली बजारमा आउन सक्ने प्रविधिको संकेत गर्नेछ।

मुरारकाले एक्स्पोले सवारी बिक्रीसँगै समग्र अटो बजारलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। दशैंअघि आयोजना हुने भएकाले उपभोक्ताले एउटै स्थानमा विभिन्न ब्रान्डका मोडल, अफर र प्रविधिको तुलना गरी खरिद निर्णय लिन सहज हुने उनले बताए।

प्रदर्शनीमा बैंक, बीमा कम्पनी र एक्सचेन्ज पार्टनर पनि सहभागी हुनेछन्। यसबाट आगन्तुकले सवारी खरिदसँग सम्बन्धित फाइनान्स, बीमा तथा पुरानो सवारी साट्ने सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्।

हाल बैंकिङ प्रणालीमा ब्याजदर तुलनात्मक रूपमा कम रहेकाले सवारी खरिदका लागि अनुकूल समय रहेको मुरारकाको भनाइ छ। उनले ईभीको संख्या बढेसँगै सर्भिस सेन्टर र स्पेयर पार्ट्स व्यवस्थापनमा सुधार भइरहेको बताए। आपूर्ति शृंखला वा ढुवानीका कारण केही ढिलाइ हुन सक्ने भए पनि बिक्रीपछिको सेवा सुदृढ बनाउन कम्पनीहरूले काम गरिरहेको उनले बताए।

आगन्तुकको सुविधाका लागि एक्स्पो अवधिभर भृकुटीमण्डपअगाडि रहेको ब्लु प्याभिलियनमा पार्किङको व्यवस्था गरिएको छ। टिकट खरिदका लागि डिजिटल प्रणाली अपनाइएको छ भने खल्ती बाई आईएमईमार्फत टिकट खरिद गर्न सकिने र युनियन पेमार्फत भुक्तानी गर्दा क्यासब्याक तथा विद्यार्थीलाई विशेष छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार ११:२१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।