काठमाडौं । शङ्कर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोनको नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी ‘ई.मास ५’ सार्वजनिक गरेको छ। आधुनिक डिजाइन, प्रविधि र प्रतिस्पर्धी मूल्यलाई प्राथमिकतामा राखेर ल्याइएको ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ।
कम्पनीका अनुसार प्राइम भेरियन्टमा ३०.१२ किलोवाट घण्टा क्षमताको ब्याट्री प्याक राखिएको छ। उक्त ब्याट्रीले डब्लुएलटीपी मापदण्डअनुसार एकपटक पूर्ण चार्जमा २२५ किलोमिटरसम्मको रेन्ज दिने दाबी कम्पनीको छ।
त्यस्तै, प्रिमियम भेरियन्टमा ४०.१६ किलोवाट घण्टा क्षमताको ब्याट्री प्याक दिइएको छ। यसले एकपटकको पूर्ण चार्जमा ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।
दुवै भेरियन्टमा रियर–ह्विल ड्राइभ प्रणाली प्रयोग गरिएको छ। गाडीमा १४.६ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो तथा डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ।
ई.मास ५ मा ४जी तथा वाइ–फाइ कनेक्टिभिटीसमेत उपलब्ध गराइएको छ। यसले चालक तथा यात्रुलाई थप कनेक्टेड र स्मार्ट ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ।
सुरक्षातर्फ इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामेरा र रियर पार्किङ सेन्सरजस्ता सुविधा दुवै भेरियन्टमा राखिएको छ।
प्रिमियम भेरियन्टमा भने थप उन्नत सुरक्षा प्रविधि उपलब्ध छन्। यसमा एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ र ब्लाइन्ड स्पट डिटेक्सनलगायत लेभल–२ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) समावेश गरिएको कम्पनीले जनाएको छ।
मूल्यका हिसाबले पनि ई.मास ५ लाई नेपाली विद्युतीय एसयूभी बजारमा प्रतिस्पर्धी बनाउने प्रयास गरिएको छ। प्राइम भेरियन्टको बजार मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर सुरुवाती चरणमा पहिलो १ सय ग्राहकले विशेष अफरअन्तर्गत २९ लाख ९९ हजार रुपैयाँमै यो गाडी खरिद गर्न सक्नेछन्।
त्यस्तै, प्रिमियम भेरियन्टको बजार मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। पहिलो १ सय ग्राहकका लागि भने ३४ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ।
बढ्दो विद्युतीय सवारीको बजारमा मध्यम मूल्य, पर्याप्त रेन्ज र आधुनिक सुरक्षा तथा कनेक्टिभिटी सुविधालाई एकैसाथ प्रस्तुत गर्दै प्रोटोनले ई.मास ५ मार्फत नेपाली एसयूभी बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने लक्ष्य लिएको देखिन्छ।















प्रतिक्रिया