काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लंघनको विषयमा कारबाही गर्ने कानुनी व्यवस्था हुँदाहुँदै पत्रकारलाई पक्राउ गरी सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरेर सामग्री जफत गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई साउन २७ गते बुधबार राति पक्राउ गरी उनको निजी निवास खानतलासी गरिएको र बिहीबार बिहान सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा प्रेस तथा सञ्चारमाध्यमले व्यावसायिक आचारसंहिता उल्लंघन गरेमा प्रेस काउन्सिलमा उजुरी दिने कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ ।
प्रेस काउन्सिल ऐन, २०४८ ले प्रेस तथा सञ्चारमाध्यमको आचारसंहिता निर्माण, पत्रकार तथा सञ्चारमाध्यमलाई जिम्मेवार र उत्तरदायी बनाउने तथा प्रेस स्वतन्त्रताको संरक्षण गर्ने जिम्मेवारी काउन्सिललाई दिएको विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिलले विद्यमान व्यवस्थाअनुसार आचारसंहिता पालना र प्रेस स्वतन्त्रताको सदुपयोग गर्न लगाउने, खण्डन प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिने, ध्यानाकर्षण वा सचेत गराउने, पत्रपत्रिकाको मूल्यांकन तथा वर्गीकरण गर्ने, लोककल्याणकारी विज्ञापनलगायत सुविधाबाट वञ्चित गर्ने वा सूचीकरणबाट हटाउने तथा प्रेस प्रतिनिधि प्रमाणपत्र वा प्रेस पास निलम्बन गर्न सम्बन्धित निकायलाई निर्देशन दिन सक्ने जनाएको छ ।
त्यस्तै, सरकारी वा अन्य निकायबाट सञ्चारमाध्यमलाई उपलब्ध गराइने विज्ञापन तथा सुविधाका सम्बन्धमा आवश्यक निर्देशन वा सिफारिस गर्ने, आचारसंहिता उल्लंघन गर्ने पत्रकार तथा सञ्चारमाध्यमलाई कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने अधिकारसमेत काउन्सिलसँग रहेको विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिलले आफ्नो निर्णय वा निर्देशन अवज्ञा गर्ने पत्रकार वा सञ्चारमाध्यमप्रति समेत कारबाही गर्न सक्ने जनाएको छ । काउन्सिलका अनुसार त्यस्ता कारबाहीको विवरण सार्वजनिक गर्ने, अवज्ञाकारीलाई कालोसूचीमा राख्ने तथा पटक–पटक गरिएको कारबाहीको विवरण तत्काल वा आवश्यकताअनुसार सार्वजनिक गर्ने प्रक्रिया रहेको छ ।
विज्ञप्तिमा पत्रकार किशोर श्रेष्ठ पक्राउ तथा सञ्चारमाध्यमको कार्यालयमा खानतलासी गरी सामग्री जफत गरिएको घटनालाई प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादासँग जोडेर हेरिएको छ ।
‘नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाट हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सबैको कर्तव्य हो’ भन्दै काउन्सिलले प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्नेमा जोड दिएको छ ।
काउन्सिलले सञ्चारकर्मीले प्रस्तुत गर्ने कार्यशैली, व्यवहार तथा समाचारको विषयवस्तुमा समेत आचारसंहिता पालना गर्नुपर्ने जनाएको छ । सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारितामार्फत व्यावसायिक अभ्यासलाई उच्च, मर्यादित, जवाफदेही र उत्तरदायी बनाउनुपर्ने उसको भनाइ छ ।
प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन पत्रकार तथा सञ्चारकर्मीले सजगता अपनाउनुपर्ने उल्लेख गर्दै काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र रहेर पत्रकार र सञ्चारमाध्यमको अनुगमन गर्दै आएको जनाएको छ ।
काउन्सिलले कुनै समाचारको विषयमा चित्त नबुझेमा आफ्नो क्षेत्राधिकारभित्र रही काउन्सिलमा उजुरी दिन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । साथै, पत्रकार तथा सञ्चारमाध्यममाथि हुने कारबाहीसमेत प्रचलित कानुनी प्रक्रिया र प्रेस स्वतन्त्रताको संवैधानिक मर्मअनुकूल हुनुपर्ने सन्देश विज्ञप्तिमार्फत दिएको छ ।















प्रतिक्रिया