काठमाडौं । अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५ कोतलाबाङमा बुधबार राति गएको भीषण पहिरोमा परी ७ जनाको मृत्यु र ५ जना बेपत्ता भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुःख व्यक्त गरेको छ।
रास्वपाले बिहीबार विज्ञप्ति जारी गर्दै पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको हो। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको प्रभावकारी खोजी तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएको छ।
रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा पछिल्लो २४ घण्टामा रोल्पालगायत देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको उल्लेख छ। निरन्तरको वर्षाका कारण जनजीवन कष्टकर बन्नुका साथै सडक सञ्जाल र बस्तीहरू समेत जोखिममा परेको पार्टीले जनाएको छ।
विपद्का बेला सीमित स्रोतसाधनका बाबजुद उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीय नागरिकको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै रास्वपाले राज्यको दायित्व उद्धारमा मात्रै सीमित हुन नहुने बताएको छ।
विपद् आइसकेपछि मात्रै राज्य संयन्त्र सक्रिय हुने र पूर्वतयारीमा चुक्ने परम्परागत कार्यशैलीका कारण हरेक वर्ष नागरिकले ज्यान गुमाउनुपरेको भन्दै रास्वपाले विपद् जोखिम न्यूनीकरणमा सरकार अझ जिम्मेवार र जवाफदेही बन्नुपर्ने माग गरेको छ।
पार्टीले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई विपद्को पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन, जोखिमयुक्त बस्ती पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र निःशुल्क उपचारको व्यवस्था गर्न आग्रह गरेको छ।
रास्वपाले सम्भावित विपद्बाट जोगिन उच्च सतर्कता अपनाउन, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणमा अपिलसमेत गरेको छ।
‘विपद्को यस घडीमा राज्य आफ्ना नागरिकको अभिभावक बनेर उभिनुपर्छ’ भन्दै रास्वपाले आफू प्रभावित क्षेत्रका नागरिकको साथमा रहेको जनाएको छ। साथै पार्टीको संयन्त्रलाई विपद्पूर्व तयारी तथा विपद्पछिको उद्धार र राहत कार्यमा राज्यका संयन्त्रलाई सघाउन चौबीसै घण्टा तयार रहन निर्देशन दिएको छ।
















प्रतिक्रिया