काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार नियमित रूपमा गर्दै आएको काम–कारबाहीलाई लिएर उक्त मुद्दा दायर भएको जनाएको हो ।
बैंकले एक विज्ञप्ति जारी गर्दै बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत् रहेको र संस्थाको सबलता, समग्र ग्राहकको हित तथा बैंकिङ प्रणालीको स्थायित्वलाई केन्द्रमा राखेर सम्पूर्ण सेवा तथा गतिविधि पूर्ववत् रूपमा नियमित, सुरक्षित र निर्बाध सञ्चालन भइरहेको स्पष्ट पारेको छ ।
बैंकले बैंकिङ प्रणालीप्रति जनताको विश्वास, कर्मचारीको मनोबल र वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोग गरिदिनसमेत आग्रह गरेको छ ।
बैंकसँग सम्बन्धित अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाउन आग्रह गर्दै एनआईएमबीले आधिकारिक सूचनालाई मात्र आधार बनाउन सरोकारवालालाई अनुरोध गरेको छ । बैंकले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिन सक्ने अपुष्ट सूचनाले ग्राहक, निक्षेपकर्ता, शेयरधनी तथा समग्र बैंकिङ प्रणालीमा अनावश्यक भ्रम सिर्जना गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरेको हो ।
बैंकले आफ्ना सम्पूर्ण निक्षेपकर्ता, ग्राहकवर्ग, शेयरधनी तथा सरोकारवालाबाट प्राप्त हुँदै आएको सद्भाव र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत निरन्तर सहयोगको अपेक्षा गरेको जनाएको छ ।
बैंकले नियमित बैंकिङ सेवा प्रभावित नभएको स्पष्ट पार्दै ग्राहकलाई आफ्नो कारोबार तथा बैंकिङ सेवाका विषयमा अनावश्यक आशंका नगर्नसमेत आग्रह गरेको छ ।















प्रतिक्रिया