काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेश सिंहले राज्यका सार्वजनिक संस्था तथा सरकारी निकायमा भइरहेको हस्तक्षेपप्रति प्रश्न उठाएका छन्।
उनले सेना, प्रहरी र कर्मचारीको मनोबल गिराउने गतिविधि भइरहेको भन्दै त्यसले राज्य संयन्त्रमै नकारात्मक असर पार्ने बताएका छन्।
सिंहले सामाजिक सञ्जालमार्फत सार्वजनिक संस्थामाथिको हस्तक्षेप, सुरक्षा निकाय र कर्मचारीमाथिको व्यवहार तथा संसद्मा सांसदहरूले दिने अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन्।
‘देशैभरका सार्वजनिक संस्था र सरकारी निकायमाथि हस्तक्षेप, सेना, प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको छ,’ उनले भनेका छन्, ‘सांसदहरूको वक्तव्य यस्तो छ कि सम्मानित संसद्कै बेइज्जती भइरहेको छ।’
व्यापारीहरूको पक्राउ र धरपकडले निजी क्षेत्रसमेत त्रसित बनेको उनको दाबी छ। उनले राज्यका पछिल्ला गतिविधिले व्यवसायीमा भयको वातावरण सिर्जना भएको बताएका छन्।
परराष्ट्र नीतिप्रति पनि सिंहले प्रश्न उठाएका छन्। पछिल्लो समय नेपालको परराष्ट्र नीतिमा विश्वसनीयताको संकट देखिएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय तहमा ‘ट्रस्ट डेफिसिट’ अर्थात् विश्वासको कमी देखिएको टिप्पणी गरेका छन्।
‘व्यापारीहरूको धरपकडले व्यापारीहरू त्रसित छन्,’ उनले भनेका छन्, ‘परराष्ट्र नीति त झन् यस्तो कि कसैले विश्वास गरिरहेको छैन। ट्रस्ट डेफिसिट छ।’
राज्यका विभिन्न संयन्त्रमाथि भइरहेको हस्तक्षेप र अस्थिरताले मुलुकलाई समृद्धि र सुशासनतर्फ लैजानेभन्दा थप पछाडि धकेल्ने जोखिम रहेको उनको आशंका छ।
‘के समृद्धि र सुशासनको रोडम्याप यही हो ? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहेको छ ?’ सिंहले प्रश्न गरेका छन्।
उनले पछिल्ला गतिविधिमाथि गम्भीर समीक्षा आवश्यक रहेको भन्दै राज्य सञ्चालनको दिशाबारे सोच्ने बेला आएको बताएका छन्। ‘सोच्ने बेला भएको छैन ?’ भन्दै सिंहले सरकार र राजनीतिक नेतृत्वलाई प्रश्न गरेका छन्।















प्रतिक्रिया