Logo

अर्थ

सिटिजन लाइफको नाफामा १०६ प्रतिशतको उछाल, बिमाशुल्क र बिमाकोषमा पनि बलियो वृद्धि



काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा दोब्बरभन्दा बढीले वृद्धि गरेको छ।

कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवमा कम्पनीले ३९ करोड ८ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको १८ करोड ९१ लाख ३६ हजार रुपैयाँको तुलनामा १०६.६३ प्रतिशत बढी हो।

कम्पनीको बिमा व्यवसाय विस्तारसँगै खुद बिमाशुल्क आर्जनमा पनि उल्लेख्य वृद्धि भएको छ। गत आवमा कम्पनीले ८ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवमा यस्तो बिमाशुल्क ७ अर्ब १३ करोड २१ लाख रुपैयाँ थियो। यसअनुसार खुद बिमाशुल्क आर्जन २५.८७ प्रतिशतले बढेको हो।

बिमाशुल्क आर्जन बढेसँगै कम्पनीको कुल आम्दानी पनि २१.५९ प्रतिशतले वृद्धि भएको छ। गत आवमा कम्पनीको कुल आम्दानी ११ अर्ब १८ करोड ५० लाख रुपैयाँ पुगेको छ।

व्यवसाय विस्तारसँगै कम्पनीको दाबी भुक्तानी र खर्च भने बढेको छ। समीक्षा अवधिमा कम्पनीले ८ अर्ब ९१ करोड २७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। त्यस्तै, कम्पनीको कुल खर्च १० अर्ब ७९ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको जीवन बिमा कोष पनि उल्लेख्य बढेको छ। अघिल्लो आवको अन्त्यमा १९ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ रहेको जीवन बिमा कोष गत आवको अन्त्यसम्ममा बढेर २७ अर्ब ६ करोड ६६ लाख रुपैयाँ पुगेको छ।

पुँजीतर्फ कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँमा स्थिर छ। सेयर प्रिमियम ४४ करोड ९६ लाख रुपैयाँ रहेको छ। महाविपत्ति कोष १६.९६ प्रतिशतले बढेर २६ करोड ९४ लाख रुपैयाँ पुगेको छ।

तर, कम्पनीको जगेडा कोष भने घटेको छ। अघिल्लो आवको तुलनामा जगेडा कोष ५६.६९ प्रतिशतले घटेर ४९ करोड ८३ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो आवमा ३.७८ रुपैयाँ रहेको ईपीएस गत आवमा बढेर ७.८२ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ पनि ११५.९२ रुपैयाँबाट बढेर १३१.६० रुपैयाँ पुगेको छ।

कम्पनीले विभिन्न क्षेत्रमा ३० अर्ब ५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ। कम्पनीको सेयर बजार मूल्य र आम्दानी अनुपात (पीई रेसियो) ५५.६७ गुणा रहेको छ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार ०८:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।