Logo

अर्थ

नेपाल टेलिकमको पोस्टपेड सिम नामसारी अब अनलाइनबाटै



काठमाडौं । नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइलका ग्राहकहरूले अब नामसारीका लागि आवश्यक सम्पूर्ण विवरण अनलाइनमार्फत नै भर्न सक्ने भएका छन् । कुनै एक व्यक्तिको नाममा रहेको पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा हस्तान्तरण गर्नका लागि आवश्यक सम्पूर्ण विवरण अनलाइनमा भरेर अन्तिम प्रमाणीकरण र दस्तुर बुझाउन मात्र नजिकैको दूरसञ्चार कार्यालय पुगे पुग्नेछ ।

ग्राहकहरूले टेलिकमको कस्टमर लगइन पोर्टल (https://myc.ntc.net.np/)मार्फत आवश्यक विवरण भर्न सक्नेछन् । उक्त पोर्टल लगइन गरेर मोबाइल नम्बर राखेपछि ओटीपी प्राप्त हुनेछ । त्यसपछि हालका ग्राहक र नामसारी गर्नुपर्ने नयाँ ग्राहकको व्यक्तिगत विवरणहरू बुझाउनुपर्नेछ । यसका साथै पछिल्लो एक महिनाको अवधिमा कल गरिएका पाँचवटा मोबाइल नम्बरसमेत पोर्टलमा दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ ।

सबै विवरण भरिसकेपछि प्रमाणीकरणका लागि भने नजिकको नेपाल टेलिकमको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ । नामसारीका लागि तोकिएको दस्तुर तिरेर सक्कल नागरिकतासहित आफू स्वयं वा प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गराउन सकिनेछ ।

अनलाइनबाटै पहिले नै आवश्यक विवरण भरेर पोस्टपेड सिम नामसारी गर्न सकिने भएकाले यो प्रक्रिया थप सहज हुने अपेक्षा गरिएको छ । स्वयं कार्यालयमा उपस्थित हुन नसक्ने सेवाग्राहीले प्रतिनिधिमार्फत समेत अन्तिम प्रमाणीकरण गराउन सक्ने सुविधा छ ।

हाललाई यो अनलाइन नामसारीको सुविधा व्यक्तिगत ग्राहकका लागि मात्र उपलब्ध गराइएको छ । कर्पोरेट ग्राहकहरूले भने नामसारी प्रक्रियाका लागि अनिवार्य रूपमा दूरसञ्चार कार्यालयमै उपस्थित हुनुपर्ने टेलिकमले जनाएकाे छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार १७:१६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।