काठमाडौं । नेपाली सेनाकी पहिलो महिला प्याराजम्पर अन्नपूर्ण कुँवरले नेपाली सेना कानुन, नियम र आदेशअनुसार मात्रै परिचालन हुने भएकाले संकटका बेला सेनाले भूमिका निर्वाह नगरेको भन्दै आलोचना गर्न नमिल्ने बताएकी छन् ।
‘नेपाली सेना र नागरिकको सम्बन्ध बलियो बनाउने कार्यमा अवकाशप्राप्त सैनिकको कर्तव्य’ विषयमा आयोजित भेटघाट तथा पत्रकार सम्मेलनमा बोल्दै कुँवरले नेपाली सेना अनुशासित संस्था भएकाले सम्बन्धित निकायबाट आदेश र बिफ्रिङ नभएसम्म आफैँ अगाडि बढ्न नसक्ने बताइन् ।
‘अनुशासनमा बसेको मान्छे कहिल्यै पनि आफ्नो नियमभन्दा अगाडि जाँदैन । अहिले देशमा जे–जे भयो, त्यसमा मिडियामा नेपाली सेनाले यसो गरेन, त्यसो गरेन भनेर कुरा आएका छन् । नेपाली सेना एउटा अनुशासनमा बस्ने संस्था हो,’ उनले भनिन् ।
उनले सेना परिचालनका लागि निश्चित कानुनी प्रक्रिया रहेको बताउँदै सामान्य अवस्थामा शान्ति–सुरक्षासम्बन्धी जिम्मेवारी प्रहरीको हुने उल्लेख गरिन् ।
‘संस्थालाई जबसम्म आदेश हुँदैन, बिफ्रिङ हुँदैन, सेना अगाडि बढ्दैन । त्यो सबै काम प्रहरीको हुन्छ । प्रहरीले त्यस्ता काम गर्छ,’ कुँवरले भनिन् ।
उनका अनुसार देशमा गम्भीर संकटको अवस्था सिर्जना भई राष्ट्रपतिबाट आदेश आएपछि मात्रै नेपाली सेना परिचालन हुने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार सेना परिचालन हुने भएकाले सेनाले संकटका बेला भूमिका निर्वाह नगरेको आरोप लगाउन नमिल्ने उनको भनाइ छ ।
उनले भनिन्,‘देशमा एकदमै संकटकालीन अवस्था आउँछ र राष्ट्रपतिबाट आदेश आउँछ त्यसपछि मात्रै आर्मी परिचालन हुने एउटा नियम छ, कानुन छ । त्यो कानुनमा आर्मी बसेको हुनाले आर्मीलाई यस्तो गरेन उस्तो गरेन भन्न मिल्दैन ।’
कुँवरले नेपाली आर्मी संघ पनि आफ्नो मर्यादा र देशभक्तिको भावनामा रहेर काम गर्दै आएको बताइन् । उनले नेपाली सेनाको संस्थागत अनुशासन र मर्यादालाई सबैले बुझ्न आवश्यक रहेकोमा जोड दिइन् ।















प्रतिक्रिया