काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा पाँच दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता पुगेका छन्। आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) का अनुसार शनिबार मात्रै ४२ हजार जनाले एक्स्पो अवलोकन गरेका छन्।
छ दिनमा डेढ लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्य राखेको नाइमा पाँचौं दिनमै लक्ष्य पूरा भएको हो। एक्स्पोको पाँचौं दिनसम्म अवलोकनकर्ताको संख्या १ लाख ५० हजार नाघेको आयोजकले जनाएको छ।
अटो एक्स्पो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अवलोकनकर्ताको उत्साहजनक सहभागिताले आफूहरू उत्साहित भएको बताए। उनका अनुसार एक्स्पोमा नयाँ प्रविधि र मोडलका सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढेको छ।
आयोजकका अनुसार उद्घाटनको दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए। शनिबारको ४२ हजारसहित पाँच दिनमा अवलोकनकर्ताको संख्या डेढ लाखभन्दा बढी पुगेको हो।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गर्दै उपभोक्तालाई आफ्नो स्टलतर्फ आकर्षित गरिरहेका छन्। हालसम्म विभिन्न ब्रान्डले ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन्।
अवलोकनकर्ताले विशेषगरी सवारीसाधनको ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर–सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र रिसेल भ्यालुबारे चासो राख्ने गरेका छन्। ग्राहक आकर्षित गर्न कम्पनीहरूले विभिन्न छुट तथा सुविधा पनि उपलब्ध गराएका छन्।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको यो दोस्रो संस्करण हो। साउन २६ गतेदेखि सुरु भएको एक्स्पो आइतबार साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।
एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता छ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर र विद्युतीय व्यावसायिक सवारीसाधनसम्म प्रदर्शनीमा राखिएका छन्।















प्रतिक्रिया