काठमाडौं ।नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय सम्मेलन आज घोषणापत्र जारी गर्दै समापन हुने भएको छ।
शुक्रबार भेलाका रूपमा उद्घाटन गरिएको कार्यक्रम शनिबारदेखि राष्ट्रिय सम्मेलनका रूपमा अघि बढाइएको थियो। सम्मेलनको दोस्रो दिन शनिबार विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल भएको थियो।
देशभरबाट सहभागी करिब ३ हजार ५ सय प्रतिनिधिलाई विभिन्न समूहमा विभाजन गरी बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि छलफल गराइएको थियो। छलफलमा नेता डा. प्रकाशशरण महतको आर्थिक तथा सामाजिक नीति सम्बन्धी प्रतिवेदन, विमलेन्द्र निधिको राजनीतिक प्रतिवेदन, रमेश लेखक नेतृत्वको कानुन तथा विधान समितिको विधान संशोधन अवधारणा पत्र, उमाकान्त चौधरीको सांगठनिक प्रतिवेदन र एनपी साउदको समसामयिक विषयसम्बन्धी प्रस्तावमाथि प्रतिनिधिहरूले धारणा राखेका थिए।
छलफलमा अधिकांश प्रतिनिधिले पार्टीभित्र एकता कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। सर्वोच्च अदालतको आदेशअनुसार पार्टीको आगामी बाटो तय गर्नुपर्ने उनीहरूको धारणा थियो।
सम्मेलनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १५औँ महाधिवेशन आयोजना गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।
यसअघि तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले नचाहँदा–नचाहँदै पार्टीको विशेष महाधिवेशन गरिएको बताएका थिए। उक्त विषय अदालतमा विचाराधीन रहेकाले आफूले धेरै नबोल्ने उनको धारणा थियो।
सम्मेलनको अन्तिम दिन आज निधिको राजनीतिक प्रतिवेदन, साउदको समसामयिक राजनीतिक प्रतिवेदन, महतको आर्थिक दृष्टिकोण, चौधरीको सांगठनिक प्रस्ताव र लेखकको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि बाँकी समूहगत छलफल हुनेछ। त्यसपछि समूहगत रूपमा सुझाव पेस गरिनेछ।
प्रतिनिधिबाट प्राप्त सुझाव समेटेर सम्मेलनको घोषणापत्र सार्वजनिक गर्ने र त्यसपछि सम्मेलन समापन गर्ने तयारी छ।















प्रतिक्रिया