काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेका बेला ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन र रिसाइक्लिङका लागि स्पष्ट प्रणाली बन्नुपर्नेमा सरोकारवालाहरु एकमत देखिएका छन् ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का अवसरमा नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले शुक्रबार आयोजना गरेकाे ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ विषयक नाइमा मोबिलिटी संवादमा उनीहरुले यस्तो धारणा राखेका हुन् ।
भेइकल फिटनेस टेस्ट सेन्टरका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुरेश श्रेष्ठले नेपालमा विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री व्यवस्थापन गर्न ब्याट्री दर्ता र ट्रयाक गर्ने सिस्टम बनाउनुपर्ने बताए ।
उनले नेपालमा ईभी चेसिस नम्बर र मोटर नम्बरमात्र दर्ता हुने भएकाले ब्याट्री पनि दर्ता गर्नै व्यवस्था लागू गर्नुपर्ने स्पष्ट पारे ।”हाल नेपालमा ईभी दर्ता गर्दा चेसिस नम्बर र मोटर नम्बरमात्र दर्ता गर्ने गरिएको छ । तर ब्याट्री नम्बर दर्ता गर्ने प्रणाली छैन,”उनले भने, ”प्रत्येक ब्याट्रीको आफ्नै युनिक पहिचान नम्बर हुने भएकाले अब गाडीसँगै ब्याट्रीहरूलाई पनि दर्ता र ट्रयाक गर्ने प्रणाली बसाल्नुपर्छ । यसले ब्याट्री खरिदकर्तादेखि विभिन्न चरणहरू पार गर्दै प्रयोग हुने क्रममा ब्याट्री जथाभावी फालिन र कबाडमा जानबाट रोक्न सकिन्छ ।”
सरकारले हालै ल्याएको नयाँ यातायात नीतिले विद्युतीय सवारीसाधनको प्रवर्धनमा जोड दिएकाले ईभी ब्याट्रीहरूको ‘इन्ड अफ लाइफ’ व्यवस्थापनबारे पनि समावेश गरिएको उनले बताए । अहिले ईभी ब्याट्री व्यवस्थापनसम्बन्धी इकोसिस्टम निर्माण गर्ने उपयुक्त समय रहेको उनको भनाइ छ ।
संवादमा अटोमोबाइल व्यवसायी एवं नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री व्यवस्थापनका लागि गरिने रिसाइक्लिङको काम सवारी आयातकर्ताले मात्र गर्न नसक्ने बताए । उनले ईभीको मात्रै नभई मोबाइल फोन, ल्यापटपलगायत उपकरणको ब्याट्री व्यवस्थापन पनि जरुरी रहेको तर्फ सरकारको ध्यानाकर्षण गराए । साथै, उनले ब्याट्री व्यवस्थापनसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुनु, नेपाल–भारत खुला सीमा पनि ब्याट्री व्यवस्थापनको चुनौती बेनको बताए ।
”नेपालमा ईभीको मात्रै होइन, मोबाइल फोन र ल्यापटप जस्ता उपकरणहरूमा प्रयोग हुने ब्याट्रीहरूको व्यवस्थापन आज ठूलो चुनौती बनेको छ,”उनले भने,”अहिले यससम्बन्धी कुनै व्यवस्थित प्रणाली छैन । कानुन छैन । सरकारलाई समेत यसको यथार्थ अवस्थाबारे पूर्ण जानकारी छैन ।” हाल लिड एसिड ब्याट्रीले राम्रो मूल्य पाइरहेकाले ल्यान्डफिल साइडमा नफालिने उनको भनाइ छ ।
त्यस्तै भारतको सेन्टर मोटर भेहिकल रुल्स टेक्निकल स्ट्यान्डिङ समिटका अध्यक्ष प्रा. डा. बलराज भनोटले नेपालमा तीव्र रूपमा बढ्दै गएको विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएकाले अहिलेदेखि ब्याट्री व्यवस्थापनको स्पष्ट नीति बनाउनुपर्ने बताए । संवाद कार्यक्रममा उनले पुराना ब्याट्रीहरू संकलन र पुनः प्रयोगबारे कानुनी व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
लिथियम ब्याट्रीको आयु सामान्यतया ८ देखि १० वर्ष हुने भएकाले नेपालमा आगामी ४–५ वर्षपछि मात्र ठूलो मात्रामा ब्याट्री प्रतिस्थापनको अवस्था आउने उनले बताए । उनले नेपालका लागि अहिले पूर्वतयारी गर्ने उपयुक्त अवसर रहेका बताए ।
उनले ब्याट्री व्यवस्थापनका लागि नेपाल सरकारलाई ‘विस्तारित उत्पादक उत्तरदायित्व (ईपीआर) को नीति लागू गर्न सुझाव दिएका छन् । ”लिथियम ब्याट्रीको आयु सामान्यतया ८ देखि १० वर्ष हुन्छ । नेपालमा आगामी ४–५ वर्षपछि मात्र ठूलो मात्रामा ब्याट्री प्रतिस्थापनको अवस्था आउन सक्छ,” उनले भने, ”त्यसैले सरकारले अहिलेदेखि नै स्पष्ट नीति बनाउनु थाल्नुपर्छ । यो पूर्वतयारी गर्ने उपयुक्त अवसर हो ।”
उनले सवारी साधन वा ब्याट्री आयातकर्ता, विक्रेता र डिलरलाई नै पुराना ब्याट्री संकलन गर्ने कानुनी जिम्मेवारी दिइनुपर्ने बताए । उनले ग्राहकले नयाँ ब्याट्री किन्दा पुरानो ब्याट्री बुझाउनुपर्ने बाध्यकारी व्यवस्था गर्न सुझाव दिएका छन् ।
भारतीय ब्याट्री रिसाइकल कम्पनी रिब्याटका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) करण खुरानाले नेपाली अटो व्यवसायीलाई नै विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर भन्नु व्यावहारिक हुन नसक्ने बताए । उनले व्यवसायीको व्यावसायिक दायित्वभित्र नपर्ने हुनाले यो व्यावहारिक हुन नसक्ने बताएका हुन् ।
”नेपालमा हाल ब्याट्री रिसाइक्लिङको कुनै छुट्टै उद्योग छैन । अधिकांश रिसाइक्लिङका कामहरू अन्यत्रै हुने गर्छन् । अटोमोबाइल आयातकर्ताहरूलाई नै ब्याट्री रिसाइक्लिङको जिम्मा लिन भनियो भने त्यो उनीहरूको मुख्य व्यावसायिक दायित्वभित्र नपर्ने हुनाले यो व्यावहारिक नहुन सक्छ,” उनले भने ।
नेपालमा विद्युतीय सवारीसाधनको बजारले एउटा निश्चित आकार लिइसकेको अवस्थामा पुराना ब्याट्रीहरूको व्यवस्थापन र रिसाइक्लिङको विषय निकै संवेदनशील बन्दै गएको उनले बताए ।
संवादमा रिसाइकल कम्पनी लोहम क्लिनटेक प्राली इन्डियाका असिसटेन्ट जनरल म्यानेजर तथा बिजनेस पार्टनरसिप जतिन मक्कारले इभीमा भएको ब्याट्री फोहोर नभएर रिसाइकल गरेपछि मूल्यवान बस्तु बन्ने बताए । संवादको सहजीकरण लक्ष्मी ग्रुपका महाप्रबन्धक दीपक थपलियाले गरेका थिए ।















प्रतिक्रिया