Logo

अर्थ

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल



काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । कम्पनीले नयाँ प्रविधिमा स्तरोन्नति गर्ने योजनाअनुसार भाद्र १ गतेदेखि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा सञ्चालनमा रहेका २०० भन्दा बढी मोबाइल टावरबाट थ्रीजी सेवा बन्द गर्न लागेको हो ।

एनसेलका अनुसार गण्डकी प्रदेशका गोरखा र लमजुङ, लुम्बिनी प्रदेशका बर्दिया र पाल्पा तथा सुदूरपश्चिम प्रदेशको कैलालीका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द हुनेछ । थ्रीजी सेवा बन्द भएपछि उक्त नेटवर्कमा प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी सेवाका लागि उपयोग गरिने कम्पनीले जनाएको छ ।

एनसेलले ‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसहित फोरजी नेटवर्कलाई थप बलियो बनाउने उद्देश्यले थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार फोरजी नेटवर्क देशको करिब ९५ प्रतिशत जनसंख्यासम्म विस्तार भइसकेको छ ।

भाद्र १ गतेदेखि गोरखाका गोरखा, आरुघाट, शहीद लखन, भीमसेन थापा र धार्चेलगायतका स्थानीय तहमा थ्रीजी सेवा बन्द हुनेछ । त्यस्तै लमजुङका मस्र्याङ्दी, दूधपोखरी, दोर्दी, राइनास र बेँसीशहरलगायतका स्थानमा पनि सेवा बन्द हुने कम्पनीले जनाएको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत बर्दियाका राजापुर, ठाकुरबाबा, मधुवन, गुलरिया र गेरुवा तथा पाल्पाका तानसेन, रामपुर, तिनाउ, रम्भा र पूर्वखोलालगायतका स्थानमा थ्रीजी सेवा बन्द हुनेछ । सुदूरपश्चिम प्रदेशको कैलालीमा टीकापुर, लम्कीचुहा, भजनी, जानकी र जोशीपुरलगायतका स्थानीय तहमा पनि थ्रीजी सेवा बन्द गर्ने एनसेलको योजना छ ।

फोरजीमा अपग्रेड हुन आग्रह

थ्रीजी सेवा बन्द भएसँगै सम्बन्धित क्षेत्रका ग्राहकलाई फोरजीमा अपग्रेड हुन कम्पनीले आग्रह गरेको छ । फोरजी सेवा प्रयोग गर्न फोरजी सपोर्ट गर्ने मोबाइल फोन, फोरजी सिमकार्ड वा ई–सिम र फोरजी नेटवर्क उपलब्ध हुनुपर्नेछ ।

भोल्टे सेवा प्रयोग गर्न फोरजी चल्ने मोबाइल र सिम प्रयोग गर्ने ग्राहकले मोबाइलको सेटिङमा भोल्टे विकल्प अन गर्नुपर्ने एनसेलले जनाएको छ । ग्राहकले *१२३* ११# डायल गरेर पनि भोल्टे सेवा सक्रिय गर्न सक्नेछन् ।

भोल्टे प्रविधिबाट उच्च गुणस्तरको भ्वाइस कल तथा फोन सम्पर्क छिटो स्थापित हुने कम्पनीको दाबी छ । ग्राहकले भ्वाइस कलसँगै फोरजी डेटा सेवा पनि उही शुल्कमा प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।

२०२७ को पहिलो त्रैमासिकसम्म थ्रीजी पूर्ण रुपमा बन्द गर्ने लक्ष्य

एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारका अनुसार नयाँ प्रविधि अपनाउने र सेवाको गुणस्तर निरन्तर सुधार गर्ने योजनाअनुसार कम्पनीले थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गरिरहेको छ ।

कम्पनीका अनुसार स्मार्टफोन तथा फोरजी प्रयोगकर्ताको संख्या बढ्दै गए पनि अझै ठूलो संख्यामा ग्राहक थ्रीजीमै निर्भर छन् । फोरजी चल्ने सिम र मोबाइल प्रयोग गरिरहेका कतिपय ग्राहकले समेत मोबाइल सेटिङका कारण थ्रीजी नेटवर्क प्रयोग गरिरहेको कम्पनीको भनाइ छ ।

यसअघि एनसेलले गत माघ र असारमा पनि विभिन्न जिल्लाका स्थानीय तहमा चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गरिसकेको थियो । कम्पनीले थ्रीजी नेटवर्क बन्द गर्नु नयाँ पुस्ताको मोबाइल प्रविधिमा अपग्रेड हुने प्रक्रियाको हिस्सा भएको जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आईतवार १५:०४   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।