काठमाडौं । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपीजी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाअनुसार हुने जनाएको छ। सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत उपभोक्ताले ग्यास खरिद गर्न सक्ने निगमले जनाएको हो।
निगमले उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ।
ग्यास बिक्री वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन निगमले दैनिक विवरण अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र उपलब्ध सिलिन्डरको संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेसम्म निगमलाई उपलब्ध गराउनुपर्नेछ।
त्यस्तै, विक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाणसँगै उपभोक्ताको नाम र सम्पर्क नम्बरको विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित उद्योगलाई बुझाउनुपर्नेछ। उद्योगहरूले उक्त विवरण सोही दिन निगममा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
निगमका अनुसार ग्यास वितरण गर्दा अत्यावश्यक घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिनुपर्नेछ।
ग्यास ढुवानी तथा वितरणका क्रममा सुरक्षाका लागि सहजीकरण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ।
त्यसैगरी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा निगमबाट खटिएका जनशक्तिसहितको संयुक्त टोलीले ग्यास वितरणको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।
नजिकको विक्रेताबाट कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका तथा तत्काल ग्यास आवश्यक पर्ने उपभोक्ताले निगमको क्वीक रेस्पोन्स टिम (क्यूआरटी) मा सम्पर्क गर्न सक्नेछन्। त्यसका लागि ९८५१४५५१२४ र ९८५१४५५१२८ नम्बरमा फोन गर्न सकिने निगमले जनाएको छ।
















प्रतिक्रिया