काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई उपचारका लागि काठमाडौं ल्याइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
मन्त्री लम्सालको काठमाडौंस्थित वीरेन्द्र अस्पताल, छाउनीमा उपचार भइरहेको उनका सचिवालयले जनाएको छ ।
शनिबार दार्चुलाबाट बैतडीको गोठालापानी पुगेका लम्सालमा भाइरल ज्वरो र रुघाखोकीको संक्रमण देखिएको थियो । उनी गोठालापानीस्थित हेरिटेज होटलमा बसेका थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल बैतडीका एमडीजीपी डा. पविन उपाध्याय बिहान पौने ९ बजे मन्त्री बसेको होटलमै पुगेका थिए । चिकित्सकका अनुसार लम्सालमा निद्रा अपुग हुनुका साथै मुटुको धड्कन बढ्ने समस्या देखिएको थियो ।
डा. उपाध्यायका अनुसार मन्त्री लम्साल आफैं सवारी चलाएर यात्रा गरेकाले पर्याप्त आराम नपाएको हुन सक्ने देखिएको थियो । धनगढीबाट बैतडी पुग्दा मौसममा आएको फरकले पनि स्वास्थ्यमा असर गरेको उनको भनाइ छ ।
‘धनगढीमा अलिक गर्मी र बैतडीमा चिसो भएकाले तापक्रम मिलेन । उहाँको कार्यव्यस्तता र तापक्रम नमिलेका कारण पनि गाह्रो भएको हुन सक्छ,’ डा. उपाध्यायले बताए ।
स्वास्थ्यमा समस्या देखिएपछि थप उपचार र निगरानीका लागि उनलाई धनगढी हुँदै काठमाडौं ल्याइएको हो ।















प्रतिक्रिया