Logo

प्रमुख समाचार

कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् डा.शशांक?



काठमाडौं । नेपालको सबैभन्दा पूरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र यतिबेला सामान्य ‘झगडा’ मात्र होइन, ‘रगडा’नै चलिरहेको छ । ललितपुरको सानेपा र काठमाडौंको चुनदेवीमा फरक फरक पार्टी कार्यालय संचालनमा छन् ।

दुईवटै पार्टी कार्यालयबाट १५ औं महाधिवेशनबारे रस्साकस्सी चलिरहेको छ । वास्तवमा कांग्रेसभित्र सन्त नेता कृष्ण प्रसाद भट्टराईले कांग्रेसमा ‘झगडा’ होइन, ‘रगडा’ हुन्छ भनेजस्तै अवस्था छ ।

साँढे पाँच महिनाको विदेश बसाइपछि तत्कालीन सभापति शेर बहादुर देउवा स्वदेश फर्किदाको उत्साह सुकेधारामा आयोजना गरिएको ‘राष्ट्रिय सम्मेलन’मा परिणत मात्र भएन पार्टीको १५औँ महाधिवेशन, संविधान संशोधन, धर्म र संस्कृति लगायतका पाँच प्रस्ताव पारित समेत गर्दै सम्पन्न भइसकेको छ ।

विशेष महाधिवेशनबाट चयन भएको गगनकुमार थापा नेतृत्वको कांग्रेसले भने सानेपाबाट भिन्नै गतिविधिलाई निरन्तरता दिइरहेको छ । असोजमै १५ औं महाधिवेन गर्नेगरी कार्यक्रमहरु अघि बढाएको छ । तर देउवा, पूर्ण बहादुर खड्कालगायतले अगुवाइ गरेको संस्थापन इतर पक्ष भने सर्बोच्च अदालतले पार्टी विवाद सम्बन्धि मुद्दामा पुनरावलोकनको आदेश दिएपछि उत्साहित देखिएको छ ।

मुद्दा अदालतमा विचाराधिन रहेको अवस्थामा पार्टी महाधिवेशनबारे मौन बसेको इतर समूह देउवाको उपस्थितिले हौसिएको छ ।

कांग्रेस दुई समूहमा विभाजित भएर समानन्तर गतिविधि भइरहेको अवस्थामा वीपी कोइरालाका कान्छा सुपुत्र अर्थात कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला भने आफ्नो कमाण्डमा पार्टी एकताका लागि कस्सिएका छन् ।

गएको भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि आन्तरीक दुर्घटनाका कारण क्षतविक्षत हुन पुगेको पार्टी एकढिक्का बनाउन डा. शशांक ‘लिड रोल’मा देखिएका छन् ।

दुवै समूहसँग नरम देखिएका कोइराला परिवारका अर्का प्रभावशाली नेता डा. शेखर कोइराला पनि एकताको पर्खाइमा छन् । उनको भूमिका निर्णायक नदेखिएपनि उनी ‘हामी फुटेर होइन जुटेर अघि बढ्नुपर्छ’ भनेर बोलिरहेका छन् । इतर पक्षका पूराना नेताहरुको योगदानलाई नजरअन्दाज नगरी र युवा पुस्तालाई साथमै लिएर डा. शंशाकले एकताको सम्वाद सुरु गरिसकेको दाबी गरेका छन् ।

एकताको बाटो खोज्दै शशांक
०८३ साउन २९ गते डा.शशांकको सभापतित्वमा सुरु भएको नेपाली कांग्रेसको तीन दिने राष्ट्रिय सम्मेलनमा देशभरका युवा र पाका, पुराना र नयाँ सबैखाले कार्यकर्ताहरुको उत्साहजनक सहभागिताको सन्देश पनि एकताकै पक्षमा देखिन्छ । यद्यपी, एकाध नेताहरु सानेपाले आफ्नो आवाजको सम्बोधन नगरेको खण्डमा फरक ढंगले सोच्नुपर्ने भनेर दबाब बढाइरहेका छन् । तर शंशाक फरक र गरम ढंगले नभइ ठन्डा दिमागले काम गर्ने पक्षमा देखिन्छन् । वैकल्पिक भनिएका दलको दबदबा भइरहेको अवस्था, सरकारको अराजक र गैरलोकतान्त्रिक गतिविधिका कारण देश संकटमा पर्ने बुझेका उनी सबै त्याग गरेर भएपनि एकताको महाधिवेशन गराएर नेता–कार्यकर्ताको फुटेको मन जोड्ने पक्षामा देखिन्छन् ।

जेनजी विद्रोहपछिका डा. शशांकका अभिव्यक्तिहरु कुनै समूह लक्षित नभइ कांग्रेस बलियो र एकतावद्ध बनाउनुपर्छ भन्नेमा दृढ देखिन्छन् । उनले निर्वाचन आयोग र गगन थापालाई पत्र लेखेर एकताको पहलकदमी लिएको पनि दाबी गरेका छन् । गगन–विश्व विनाको कांग्रेस सुदृढ नहुने समेत बुझेका उनले सबैको भावनालाई सम्बोधन गर्ने प्रयास गरिरहेको बताएका पनि छन् ।

देउवा र थापा मिलाउने कार्यभार
कुनै पनि लोकतान्त्रिक राजनीतिक दलभित्र विचारमा भिन्नता, नेतृत्वका लागि प्रतिस्पर्धा र नीतिमा असहमति हुनु सामान्य मानिन्छ । तर कांग्रेसभित्र यतिबेलाको अवस्था त्यतिमा मात्र सिमित छैन । मुल कुरो पार्टीको सत्ता कसको पक्षमा पार्ने भन्ने रस्साकस्सी चलिरहेको छ । यस्तो विषम अवस्थामा डा. शशांकले एकता, मेलमिलाप र मध्यमार्गको खोजीरहेको बताउने गर्छन् ।

तर उनले चाहेको मध्यमार्गी भूमिका सहज देखिदैन् । देउवा आफू राजनीतिक विश्राम लिन चाहेपनि उनी निकट नयाँ–पुराना नेताहरुको व्यवस्थापन सबैभन्दा ठूलो चुनौति छ । त्यस्तै गगन थापाभित्र पनि आकाक्षीहरुको भीड उस्तै छ । यस्तो अवस्थामा पार्टी एकता फलामको च्यूरा चपाउनु सरह हुनेछ ।

तथापी, डा.शशांक अदालतको फैसलाबाट एकपक्षको जीत अर्को पक्षको हारसम्म नपु¥याई पार्टीको भावनात्मक एकतालाई प्राथमिकता दिएको संकेत गरेका छन् । त्यसका लागि विभिन्न विकल्पहरुमा छलफल सुरु गरेका छन् ।

निवर्तमान कार्यसमितिलाई समायोजन गरेर ठुलो आकारको केन्द्रीय कार्यसमिति बनाउने र सबैको सहभागितामा एकताको महाधिवेशन गराउने, स्पष्ट टिओआर तयार गरेर अधिकारसम्पन्न तयारी समिति बनाउने साथै १४ औं महाधिवेशनबाट निर्वाचित र विशेष अधिवेशनबाट निर्वाचित कार्यसमितिबाट बराबर प्रतिनिधित्व हुने गरी एउटा तयारी समिति बनाएर एकताको महाधिवेशन गराउनेलगायतका विषयमा उनले छलफल चलाएको उनी निकट नेताहरुको भनाइ छ ।

बीपीको पदचाप
बीपीका सुपुत्र भएपनि कतिपय अवस्थामा डा.शशांकले राजनीतिमा वीपीको जस्तै भूमिका निर्वाह गर्न सकेनन् कि भन्ने कार्यकर्ताहरुको गुनासो कायम छ । देउवा सभापति र आफू महामन्त्री भएकाबेला देउवाको एकाधिकारपूर्ण निर्णयमाथि हस्तक्षेप गर्न नसक्दा पार्टी कमजोर बनाएको आरोप उनले खेपिरहेका छन् ।

तर डा कोइरालाले भने महामन्त्री नै सभापतिका विपक्षमा उभिदा पार्टी ब्रेक हुने अवस्था सृजना हुने भएकाले सभापतिको सहयोगी बनेको तर्क गर्ने गरेका छन् । पद र शक्तिको लोलुपता भन्दा पनि बलियो र सांगठनिक पार्टी निर्माण गर्नुपर्छ भन्दै आएका उनले यस पटक बिपी कोइरालाले प्रतिपादन गर्नुभएको मेलमिलापको भावना अंगिकार गर्न खोजेका हुन कि भन्ने अनुमान कार्यकर्तालहरुले गरेका छन् । कसैको व्यक्तिगत विजयभन्दा पार्टी एकता र कुनै समूहको तत्कालीन राजनीतिक लाभभन्दा कांग्रेसको दीर्घकालीन भविष्य ठुलो सम्झिन अपिल गर्दै उनले सबै पक्षका नेताहरुसँग चाँडै बाक्लो संवाद सुरु गरेर निष्कर्षमा पुग्ने अठोट लिएको पनि बताएका छन् ।

मध्यमार्गी भूमिका
डा.शशांकका अधिकांश अभिव्यक्ति व्यक्ति केन्द्रित देखिएका छैनन् । कसैलाई खुल्याउने र उचाल्ने भन्दापनि मध्यमार्गी बाटोबाट उनी अघि बढ्न खोजेको देखिन्छ । उनले आफू सभापतिमा इच्छुक भए पनि डा.शेखर कोइराला उठेमा सहयोग गर्ने वा गगन थापाले सबै पक्षलाई समान र सम्मानपूर्वक सम्बोधन गर्नेगरी आफूसँग स्पष्ट खाका प्रस्तुत गरे सहयोगी भावनाले अघि बढ्ने पनि बताएका छन्।

सुकेधारामा आयोजना गरिएको सम्मेलनमा पनि डा.शशांकले आफू विभाजनको पक्षमा नरहेको र पार्टीलाई एकीकृत बनाएर लग्ने प्रतिवद्धता जनाए । ‘म पार्टी फुटाउने पक्षमा विलकुलै छैन,’ उनले भने। कांग्रेसलाई नयाँ ढंगले अगाडि बढाउन सहयोग गर्ने बताएका उनले अब मध्यमार्गी जस्तो कठिन बाटो रोजेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार १३:२५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।