Logo

अर्थ

३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले जिते १० लाखको बम्पर पुरस्कार



काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कारमा गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्।
अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ता यसपटकको बम्पर पुरस्कारका लागि छनोट भएका हुन्।

आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गरेको हो।

साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न भई कर बिजक लिएका उपभोक्ता उक्त अवधिको पुरस्कारमा सहभागी भएका थिए। विभागका अनुसार कार्यक्रमको सुरुआती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको संख्या उल्लेख्य रूपमा बढेको छ।

विभागका अनुसार साउन १६ देखि ३१ गतेसम्मको अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल उपहारका लागि दर्ता (अपलोड) भएका छन्।

कर बिजक लिने तथा नियमित र औपचारिक कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ। सामान्य मूल्यको सामान खरिद गर्दा प्राप्त बिलबाटै १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेपछि कार्यक्रमप्रति उपभोक्ताको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार १७:०९   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।