काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरूलाई रेडक्रसको जग्गा खरिदका क्रममा रकम हिनामिना गरी संस्थालाई हानि पुर्याएको आरोपमा पक्राउ गरेको हो।
सीआईबीका एसएसपी अनुपमशमशेर जबराका अनुसार पूर्वअध्यक्ष थापालाई काठमाडौंंबाट पक्राउ गरिएको हो। पक्राउ परेका अन्य चार जना पनि रेडक्रस सोसाइटीका पूर्वपदाधिकारी हुन्।
पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ का ५२ वर्षीय राजेश देशमरु, नुवाकोटको समुन्द्रटारका ५७ वर्षीय उमेशप्रसाद ढकाल, भक्तपुर चाँगुनारायणका ५८ वर्षीय मदनकृष्ण फोजु र काठमाडौं बालाजुका ६७ वर्षीय इन्द्रबहादुर केसी छन्। पूर्वअध्यक्ष थापा उदयपुरको कटारीका हुन्।
सीआईबीका अनुसार भक्तपुरमा रेडक्रस सोसाइटीका लागि जग्गा खरिद गर्दा रकम हिनामिना गरी ठगी गरेको र संस्थालाई आर्थिक क्षति पुर्याएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको एसएसपी जबराले जानकारी दिए।
















प्रतिक्रिया