काठमाडौं । मोबाइलको कभर र सिसा मर्मतबापत तिरेको ३५० रुपैयाँको बिलले नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक तुल पुडासैनीलाई १० लाख रुपैयाँको बम्पर उपहार दिलाएको छ।
आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार सोमबार घोषणा गरेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थ मन्त्रालयमा गरिएको कार्यक्रममा पुडासैनीलाई बम्पर उपहारका लागि छनोट गरिएको घोषणा गरिएको थियो।
साउन महिनाको दोस्रो १६ दिनमा दैनिक एक जनाका दरले १६ जना र सबै सहभागीमध्येबाट बम्पर उपहारका लागि एक जना गरी १७ जना उपभोक्ता छनोट गरिएको थियो। त्यसमध्ये बम्पर उपहार पुडासैनीले हात पारेका हुन्।
पुडासैनीले मोबाइलको कभर र सिसा मर्मत गर्दा तिरेको ३५० रुपैयाँको कारोबारका आधारमा बम्पर उपहार जितेका हुन्। उनी बागमती प्रदेश प्रहरी गण, हेटौंडामा प्रहरी नायब निरीक्षकका रूपमा कार्यरत छन्।
अर्थ मन्त्रालयसँग कुरा गर्दै पुडासैनीले मोबाइल मर्मतका क्रममा प्राप्त बिल नै आफूलाई १० लाख रुपैयाँको उपहार जिताउने माध्यम बनेको बताए।
‘मोबाइलको कभर र सिसा मर्मत गर्न दुई–तीनवटा पसल चहारेपछि गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सर्भिसमा पुगेको थिएँ,’ उनले भने, ‘त्यहीँ गरेको ३५० रुपैयाँको कारोबारबाट १० लाख रुपैयाँको उपहार परेको थाहा पाएँ। एकदमै खुसी लागेको छ। अहिले सबैतिरबाट बधाई आइरहेको छ।’
सिमरा, बाराका स्थायी बासिन्दा पुडासैनीले आफूले सामान्य कारोबारका रूपमा गरेको मोबाइल मर्मतको बिलले यति ठूलो उपहार दिलाउला भन्ने कल्पनासमेत नगरेको बताए।
उनले उपभोक्तालाई हरेक कारोबारमा बिल लिन र व्यवसायीलाई बिल दिन आग्रह गरेका छन्। विद्युतीय माध्यमबाट कारोबार गर्न सकेसम्म प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।
‘सबैलाई बिल लिन र दिन मेरो अनुरोध छ,’ उनले भने, ‘सकेसम्म अनलाइनमार्फत कारोबार गरौं, बिल लिने र दिने संस्कारलाई पनि बढावा दिऔं।’
कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने र हरेक कारोबारलाई बिलमार्फत औपचारिक प्रणालीमा ल्याउने उद्देश्यले सरकारले करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ।
पुडासैनीले पाएको १० लाख रुपैयाँको उपहारले सानो रकमको कारोबारमा समेत बिल लिने अभ्यासले उपभोक्तालाई प्रत्यक्ष लाभ दिन सक्ने सन्देश दिएको छ।
















प्रतिक्रिया