सर्लाही । प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१४, डाइनीखोलाबाट ६ सय ६० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो, बर्दिबास शाखाबाट खटिएको प्रहरी टोलीले डाइनीखोलामा दुई छुट्टाछुट्टै स्थानमा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरेको हो।
पक्राउ पर्नेमा लालबन्दी–१४ का ६३ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुन माया थिङ छन्। लागूऔषध नियन्त्रण ब्यूरोका डीएसपी जीवन निरौलाका अनुसार उनीहरूले गाँजा लुकाएर राखेका थिए।
प्रहरीका अनुसार नरबहादुरले २६ वटा बोरामा प्याक गरेर ५ सय ६० किलो गाँजा लुकाएका थिए। जेसुन मायाले भने गोठमा लुकाएर राखेको अवस्थामा १ सय किलो गाँजा बरामद भएको हो।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा बुझाइएको प्रहरीले जनाएको छ।
















प्रतिक्रिया