बाजुरा । स्वास्थ्य,संगीत र नृत्यलाई एकै ठाउँमा जोड्ने उद्देश्यले बाजुराको सदरमुकाम मार्तडीमा ‘डान्स एन्ड जुम्बा स्टुडियो’ सञ्चालनमा आएको छ ।
शारीरिक तन्दुरुस्ती तथा मानसिक स्फूर्तिका लागी जुम्बा र नृत्यप्रति युवादेखि महिलासम्मको आकर्षण बढाउन स्टुडियो सञ्चालनमा आएको हो ।
सदरमुकाम मार्तडी बडीमालिका नगरपालिका—९ तुफानडाँडा नजिकै हिमालय कैलाश होटेलको तल्लो तलामा स्टुडियो सञ्चालनमा आएको हो ।
बुधबार एक औपचारिक कार्यक्रमका बिच बडीमालिका नगरपालिकाका नगर—प्रमुख अमर बहादुर खड्काले रिवन काटेर स्टुडियोको औपचारिक उद्घाटन गरेका छन् ।
स्टुडियोमा जुम्बा, डान्स तथा फिटनेस सम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिने सञ्चालक सन्तोष अवस्थीले बताए । संगीतको तालमा शारीरिक अभ्यास गरिने भएकोले जुम्बाले मनोरञ्जनसँगै शरीरलाई सक्रिय र तन्दुरुस्त राख्न सहयोग पुग्ने अपेक्षा लगिएको उनले जानकारी दिए ।
बालबालिका तथा युवायुवतीलाई शारीरिक रूपमा स्वस्थ राख्न,संगीत तथा नृत्यमा जागरूक बनाउन स्टुडियोले महत्त्वपूर्ण फाइदा पु¥याउने विश्वास लगिएको छ । साथै विद्यार्थी तथा स्थानीय युवायुवती र बालबालिकालाई स्टुडियोमा आएर नृत्य, संगीत सम्बन्धी कक्षा लिन आग्रह समेत गरिएको छ ।
व्यस्त जीवनशैली जस्ता कारण नियमित व्यायाम गर्न नपाउनेहरूलाई लक्षित गर्दै सहज वातावरणमा शारीरिक अभ्यास गर्ने अवसर उपलब्ध गराउने उद्देश्य स्टुडियोको रहेको राजेश पायल विकले बताए । उनका अनुसार, सहभागी हुनेहरूले नृत्य सिक्नुका साथै नियमित शारीरिक अभ्यासमार्फत आफ्नो फिटनेसमा ध्यान दिन सक्ने जानकारी दिए ।
बाजुरामा मनोरञ्जनका नयाँ माध्यमको विकाससँगै स्वास्थ्यप्रति सचेतना बढाउन समेत योगदान पुग्ने भएको छ ।
स्थानीय स्तरमै गुणस्तरीय डान्स तथा जुम्बा प्रशिक्षणको वातावरण निर्माण गरी युवा प्रतिभाको विकासमा सहयोग पु¥याउने लक्ष्य रहेको बताइएको छ । जिल्लामा पहिलो पटक फरक शैलीको फिटनेस र नृत्यसम्बन्धी गतिविधि विस्तार हुँदै जाँदा ‘डान्स एन्ड जुम्बा स्टुडियो’ आकर्षणको केन्द्र बन्ने अपेक्षा छ ।
स्टुडियो उद्घाटन गर्दै नगर प्रमुख खड्काले प्रविधिको युगमा नेट, इन्टरनेटमा व्यस्त युवायुवती र बालबालिकालाई सिर्जनात्मक गतिविधिमा जोड्न आवश्यक रहेको बताएका थिए ।
व्यक्तिको शारीरिक अवस्था, दैनिक जीवनशैली र व्यवहारमा परिवर्तन ल्याउन स्टुडियोले महत्त्वपूर्ण भूमिका खेल्ने जिकिर गरे।डान्स भनेको नाच्नु हो भने, जुम्बा भनेको संगीतको तालमा नाच्दै गरिने शरीरका व्यायाम (फिटनेस) हो ।
















प्रतिक्रिया