काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको फलाम खानी उत्खननसम्बन्धी योजना तयार गरेको छ।
कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट नौ करोड ६० लाख धाउँ फलाम उत्खनन गर्न सकिने योजनासहितको प्रतिवेदन खानी तथा भू–गर्भ विभागमा बुझाएको हो।
खानी क्षेत्रलाई धौवादी पोखरी ब्लक र दुर्लुङ ब्लक गरी दुई भागमा विभाजन गरिएको छ। धौवादी पोखरी ब्लक २५ वर्ग किलोमिटर तथा दुर्लुङ ब्लक १६ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।
उक्त योजना स्वीकृत भएपछि कम्पनीले फलामको भण्डारसम्बन्धी थप अनुसन्धान तथा उत्खनन कार्य अघि बढाउने जनाएको छ। नेपालमा फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले धौवादी फलाम कम्पनी लिमिटेड स्थापना गरिएको हो।
कम्पनीका निर्देशक शैलेशकुमार थापाले जमिनमुनिको फलामको नमुना परीक्षणका लागि विभिन्न १२ स्थानमा गरी एक हजार ५०० मिटर ड्रिलिङ कार्य सम्पन्न गरिएको जानकारी दिए।
हाल वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कामसमेत छिट्टै सुरु गरिने कम्पनीले जनाएको छ।
खानी सञ्चालनमा आएपछि उत्पादित फलामजन्य वस्तुले मुलुकको समग्र मागको करिब २५ प्रतिशत आयात प्रतिस्थापन गर्न सक्ने अपेक्षा गरिएको निर्देशक थापाले बताए।
खानी सञ्चालनबाट ठूलो संख्यामा रोजगारी सिर्जना भई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने उनको विश्वास छ। खानीसम्म पुग्न आवश्यक पूर्वाधार निर्माण तथा सडक स्तरोन्नतिको काम भइरहेको कम्पनीले जनाएको छ। रासस
















प्रतिक्रिया