काठमाडौं। इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप आर्थिक दबाब बढाउने घोषणा गरेकोप्रति आलोचना गरेका छन्।
उनले अमेरिकी दबाबको नीति असफल भइसकेको दाबी गर्दै यसबाट इरानलाई आफ्नो नीति परिवर्तन गर्न बाध्य पार्न नसकिने बताएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै अराघचीले अमेरिकी कदमलाई ‘असफल नीतिको निरन्तरता’को संज्ञा दिएका छन्। उनका अनुसार अमेरिकाले अभूतपूर्व ऋण र बढ्दो ब्याज लागतको सामना गरिरहेका बेला आफ्नै आर्थिक समस्याबाट ध्यान मोड्न इरानमाथि दबाब बढाएको हो।
अराघचीले अमेरिकी आर्थिक प्रतिबन्धको असर इरानमा मात्र सीमित नरही विश्व अर्थतन्त्र र विभिन्न राष्ट्रको सार्वभौमसत्तासमेत जोखिममा पार्ने दाबी गरेका छन्। उनले अमेरिकी दबाब अभियानले वासिङ्टनलाई नै थप पराजयतर्फ लैजाने चेतावनीसमेत दिएका छन्।
यसअघि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानविरुद्ध अहिलेसम्मकै कडा आर्थिक कारबाही गर्ने घोषणा गरेका थिए।
इरानलाई आर्थिक वा अन्य प्रकारको सहयोग उपलब्ध गराउने वित्तीय संस्था, व्यवसाय, विमानस्थल तथा सरकारी निकायले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने उनको चेतावनी थियो।
फेब्रुअरी २८ मा अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणपछि दुई पक्षबीच युद्ध सुरु भएको थियो। अप्रिल ८ मा भएको युद्धविरामपछि व्यापक बमबारी रोकिए पनि महत्त्वपूर्ण ऊर्जा मार्ग हर्मुज जलघाँटी आसपास तनाव कायमै रहेको जनाइएको छ।
इरानले आफ्ना बन्दरगाहमाथिको नाकाबन्दी हटाउनुपर्ने, तेलमाथिका प्रतिबन्ध फुकुवा गर्नुपर्ने तथा विदेशमा रोक्का गरिएका आफ्ना सम्पत्ति खुला गर्नुपर्ने माग गर्दै आएको छ। यी माग पूरा नभएसम्म जलमार्ग बन्द राख्ने अडान इरानले लिएको छ।
राष्ट्रपति ट्रम्पले लामो समयदेखि इरानविरुद्ध ‘अधिकतम दबाब’को आर्थिक प्रतिबन्ध नीति अपनाउँदै आएका छन्। जनवरी २०२५ मा दोस्रो कार्यकाल सम्हालेपछि उनले उक्त नीति पुनः लागू गरेका थिए।
इरानले भने प्रतिबन्ध र धम्कीका कारण आफ्नो विदेश तथा आणविक नीतिमा परिवर्तन नहुने बताउँदै अमेरिकी दबाब अभियानलाई असफल नीति भन्दै आएको छ।
















प्रतिक्रिया