काठमाडौं। काठमाडौं महानगरपालिका–१६ वनस्थलीस्थित एक डेराबाट सुनका गहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
गत साउन ४ गते बिहान करिब साढे ७ बजे डेराबाट गरगहना चोरी भएको सूचना पाएपछि खटिएको प्रहरी टोलीले चोरीमा संलग्नदेखि चोरीका गहना बिक्री तथा खरिद गर्ने व्यक्तिसम्मलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं–१६ का ५४ वर्षीय सुनचाँदी पसल सञ्चालक विनोद शाक्य, सुनसरी घर भई काठमाडौं–१६ बस्ने २२ वर्षीय सुविन घिमिरे, मकवानपुर घर भई बागबजार बस्ने २६ वर्षीय सुरज विक, काभ्रेपलाञ्चोक घर भई चमती बस्ने २६ वर्षीय सञ्जय तामाङ तथा काठमाडौं–१५ का ३५ वर्षीय रवि महर्जन र ३६ वर्षीय रविन महर्जन छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट विभिन्न प्रकारका मोती तथा सुनका माला, हसुली माला, खुकुरी कोट पिन, मंगलसूत्र, नेकलेस र औँठीलगायत १७ प्रकारका गहना बरामद गरिएको छ।
पक्राउ परेकामध्ये रविन महर्जन र सञ्जय तामाङ यसअघि साउन २० गते लागूपदार्थ तथा चोरीसम्बन्धी कसुरमा प्रहरी वृत्त स्वयम्भूको हिरासतमा थिए। यस्तै, सुविन घिमिरे र सुरज विक अभद्र व्यवहारसम्बन्धी कसुरमा प्रहरी वृत्त बालाजुको हिरासतमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी प्रहरी वृत्त बालाजुले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
















प्रतिक्रिया