काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रहरीले काभ्रे, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका सडक प्रभावित भएको जनाएको छ।
काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ। मकवानपुरको कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म तथा नुवाकोटको टोखा–छहरे सडकमा राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकिएको छ।
इलामको राजदुवालीमा हिलोका कारण मेची राजमार्ग, सिन्धुपाल्चोकको कोदारीमा अरनिको राजमार्ग, रसुवामा त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी र पासाङल्हामु सडक तथा रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्ड पहिरो तथा कटानका कारण पूर्ण रूपमा अवरुद्ध छन्।
प्रहरीले बाढी र पहिरोको जोखिम रहेकाले यात्रा गर्दा सावधानी अपनाउन र आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
















प्रतिक्रिया