काठमाडौं । विराट नर्सिङ अस्पतालमा शल्यक्रियापछि एक महिला बिरामीको स्वास्थ्य अवस्था गम्भीर बनेको घटनालाई लिएर अस्पतालको उपचार प्रणाली र चिकित्सकीय जिम्मेवारीमाथि प्रश्न उठेको छ। शल्यक्रियापछि बिरामीलाई ब्रेन स्ट्रोक भएको परिवारले जनाएको छ।
बिरामीको थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेका बेला शल्यक्रिया कसले गरेको थियो भन्ने विषयमा समेत विवाद देखिएको छ।
परिवारका अनुसार शल्यक्रियापछि चिकित्सक फरिदा खातुनले आफूले नै अपरेसन गरेको र शल्यक्रिया सफल भएको बताएकी थिइन्। त्यसै आधारमा परिवारले उनलाई शल्यक्रिया गर्ने चिकित्सकका रूपमा बुझेको जनाएको छ।
तर, शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलका क्रममा खातुनले आफू शल्यक्रिया गर्ने चिकित्सक नभई टिमको सदस्य मात्र रहेको बताएकी थिइन्। उनका अनुसार शल्यक्रिया चिकित्सक ज्ञानेन्द्र कार्कीले गरेका थिए।
एउटै घटनामा चिकित्सकबाट फरक–फरक विवरण आएपछि बिरामीका आफन्त थप अन्योलमा परेका छन्। परिवारले शल्यक्रिया गर्ने चिकित्सकको विवरणसहित सम्पूर्ण मेडिकल रेकर्ड स्पष्ट पार्न माग गरेको छ।
परिवारले अपरेसन थिएटर (ओटी) रेकर्ड, अपरेसन नोट, एनेस्थेसिया रेकर्ड, शल्यक्रियामा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको विवरण सुरक्षित राख्न र सार्वजनिक गर्न माग गरेको छ।
परिवारका सदस्य मौसम ढकालले शल्यक्रिया कसले गरेको भन्ने विषयमै स्पष्टता नभएकाले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने बताए। उनका अनुसार परिवारको उद्देश्य कसैलाई दोषी ठहर गर्नु नभई बिरामीको उपचारमा भएको घटनाबारे यथार्थ जानकारी पाउनु हो।
परिवारले बिरामीको अवस्थाबारे अस्पतालबाट स्पष्ट जानकारी दिनुपर्ने, शल्यक्रियासम्बन्धी सम्पूर्ण अभिलेख सुरक्षित राख्नुपर्ने र घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेको छ।
घटनापछि अस्पतालको उपचार प्रक्रिया, चिकित्सकीय जिम्मेवारी र बिरामीका आफन्तलाई दिइने सूचनाको पारदर्शितामाथि समेत प्रश्न उठेको छ। अब शल्यक्रियामा को–को संलग्न थिए र उपचारका क्रममा के भएको थियो भन्ने विषय मेडिकल रेकर्ड तथा छानबिनबाट स्पष्ट हुने अपेक्षा गरिएको छ।
















प्रतिक्रिया