Logo

समाचार

सप्तरीमा २ वर्षीया बालिकाको हत्या सौतेनी आमाले गरेको प्रहरीको निष्कर्ष



राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा दुई वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले उनकी सौतेनी आमालाई पक्राउ गरेको छ।

प्रहरीले १९ वर्षीया मुस्कान खातुनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) रूपक खड्काका अनुसार प्रारम्भिक अनुसन्धानमा मुस्कानकै संलग्नतामा बालिकाको हत्या भएको देखिएको छ।

मृतक बालिका सोही ठाउँका मोहम्मद इरफानकी छोरी खुशी खातुन हुन्। आइतबार बिहान घरबाट हराएकी खुशीको करिब दुई घण्टापछि घर पछाडिको झाडीमा शव फेला परेको थियो।

बालिका हराएको सूचना बिहान करिब ९ बजे पाएपछि प्रहरीले खोजी सुरु गरेको थियो। खोजीका क्रममा घर पछाडिको झाडीमा शव भेटिएको एसपी खड्काले बताए।

प्रहरीका अनुसार बालिकाको शरीरमा बाहिरी घाउचोट देखिएको छैन। घटनामा एक जनाको मात्र संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ।

मृतकका बुवा मोहम्मद इरफान वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। स्थानीयका अनुसार इरफानकी जेठी र कान्छी पत्नीबीच लामो समयदेखि विवाद हुँदै आएको थियो। विशेषगरी पारिवारिक सम्पत्तिको हकका विषयमा उनीहरूबीच विवाद हुने गरेको स्थानीयको भनाइ छ।

इरफानकी जेठी पत्नी र छोरी खुशी पुर्ख्यौली घरमा बस्दै आएका थिए भने मुस्कान सोही स्थान नजिकै डेरा लिएर बस्दै आएकी थिइन्। शनिबार पनि दुवैबीच विवाद भएको स्थानीयले बताएका छन्।

बालिकाको हत्या भएको विरोधमा स्थानीयले आइतबार दिउँसो केही समय रुपनी बजार बन्द गराउँदै प्रदर्शन गरेका थिए। उनीहरूले घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेका थिए।

प्रहरीका अनुसार अहिले रुपनी बजार र राजमार्गमा गरिएको अवरोध हटिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी खड्काले बताए।

प्रकाशित मिति : ७ भाद्र २०८३, आईतवार १९:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।