Logo

समाचार

यात्रु झार्दै गरेको बसलाई ट्रकले ठक्कर दिँदा एक महिने शिशुसहित १२ जना घाइते



बर्दिया। बारबर्दिया नगरपालिका–९ खल्ला कतर्नियास्थित पूर्व–पश्चिम राजमार्गमा मिनी ट्रकले यात्रुवाहक बसलाई पछाडिबाट ठक्कर दिँदा एक महिने शिशुसहित १२ यात्रु घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १ ख १७८६ नम्बरको बस यात्रु झार्न सडकमा रोकिएको अवस्थामा सोही दिशातर्फ गइरहेको बी १०२००२ ख १३५३ नम्बरको मिनी ट्रकले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करपछि बस सडकबाट करिब ५ देखि ६ मिटर दक्षिणतर्फ खसेर पल्टिएको थियो। दुर्घटनालगत्तै उद्धार गरिएका घाइते सबैलाई थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेज पठाइएको छ।

दुर्घटनामा बारबर्दिया नगरपालिका–१ की ४२ वर्षीया पवित्रा थापा गम्भीर घाइते भएकी छन्। अन्य घाइतेमा बाँकेको बैजनाथ गाउँपालिका–४ की २१ वर्षीया भविसरा थापा बुढा, उनका एक महिने छोरा निराजन बुढा र दुई वर्षीया छोरी हनसिखा बुढा छन्।

त्यस्तै, बारबर्दिया–२ का ३३ वर्षीय विवेक थारु र ३९ वर्षीया उमिता थारु, बारबर्दिया–३ की ३३ वर्षीया पार्वती चौधरी तथा बारबर्दिया–१ का ५५ वर्षीय चित्रबहादुर थारु घाइते भएका छन्।

बाँसगढी नगरपालिका–३ की ३५ वर्षीया रुपनी थारु र उनका ७ वर्षीय छोरा कमल थारु, बाँसगढी–९ की २९ वर्षीया विपत्ति थारु तथा बैजनाथ गाउँपालिका–५ की ५९ वर्षीया नन्दकली दमाई पनि घाइते भएका छन्।

प्रहरीका अनुसार पवित्राबाहेक अन्य घाइतेको टाउको, अनुहार, छाती, ढाड तथा हातखुट्टामा चोट लागेको छ। उनीहरूको अवस्था मध्यमदेखि सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरीले दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएको छ। बस चालक बारबर्दिया–२ का २८ वर्षीय दिनेश थारु र मिनी ट्रक चालक गुलरिया नगरपालिका–८ का ३० वर्षीय सुरेश थारु पक्राउ परेका हुन्।

दुर्घटनाका कारण राजमार्गमा सवारी आवागमन भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आईतवार २१:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।