काठमाडौं। कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ।
कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्क क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका पाँच महिलालाई रोकी जाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको साथबाट १५ किलोभन्दा बढी लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पाँच किलो २२५ ग्राम चरेजस्तो देखिने कालो गिलो पदार्थ र १० किलो अफिमजस्तो देखिने गिलो पदार्थ बरामद भएको हो। उनीहरूको साथबाट पाँच थान मोबाइलसमेत नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेमा दाङका रजिता रोकाय र विमला पुन, कपिलवस्तुका पनिसरा सारु र नन्सरी घर्ती मगर तथा पर्साकी चुमा लामिछाने छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेकामाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। बरामद पदार्थको परीक्षणसँगै घटनामा संलग्न अन्य व्यक्ति तथा सम्भावित सञ्जालबारे समेत अनुसन्धान भइरहेको उनले बताए।
















प्रतिक्रिया