हेटौँडा । बागमती प्रदेशसभाको सोमबार राति ८ बजेका लागि तय गरिएको बैठक बस्न नसकेपछि भोलि (भदौ ९ गते) अपराह्न ४ बजेका लागि सारिएको छ।
प्रदेशसभा सचिव रामकुमार पौडेलले सोमबार सूचना जारी गर्दै विशेष कारणवश निर्धारित समयमा बैठक बस्न नसक्ने जानकारी दिएका हुन्। प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको नयाँ समय निर्धारण गरेका हुन्।
मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको थियो। तर नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको विवादका कारण बैठक पटक–पटक स्थगित हुँदै आएको थियो।
यसअघि दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ ५ बजेका लागि सारिएको थियो। ५ बजे पनि बैठक बस्न नसकेपछि राति ८ बजेका लागि समय तोकिएको थियो। अन्ततः सोमबारको बैठक स्थगित गर्दै भोलि अपराह्न ४ बजेका लागि पुनः निर्धारण गरिएको हो।
भोलिको बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मत लिने कार्यसूची अघि बढाउने तयारी छ।
















प्रतिक्रिया