Logo

विविध

४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो



सिन्धुपाल्चोक। पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने सडकको इको खण्ड सोमबारदेखि सञ्चालनमा आएको छ।

भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इको क्षेत्रमा गत असार ३१ गते पहिरोसँगै सडक भासिएपछि उक्त सडक अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि सोमबारदेखि सवारीसाधन सञ्चालनमा आएका हुन्।

सडक खुलाउन ६ वटा टिपर र १२ वटा ठूला मेसिन परिचालन गरिएको थियो। सडक डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारीका अनुसार डाक्लाङ क्षेत्रमा सडक आवागमन सहज भइसकेको छ भने इकोमा पनि नयाँ ट्र्याक खोलिएको छ। लिपिङमा समेत मर्मतसम्भारको काम शीघ्र थालिने उनले बताए।

इको सडक खुलेसँगै कोदारी बजारमा रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार लिपिङपारि अझै करिब ८५ वटा कन्टेनर अलपत्र छन्।

अन्तर्राष्ट्रिय राजमार्ग लामो समय अवरुद्ध हुँदा व्यवसायीले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको उनले बताए। वर्षा कम हुँदै गएपछि बाँकी अवरोध पनि हट्ने र दसैंका लागि आवश्यक सामान आयात गर्न सहज हुने व्यवसायीको अपेक्षा छ।

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार बाह्रबिसे–तातोपानी सडकको २६ किलोमिटर खण्डमा वर्षायाममा पटकपटक पहिरो जाने र सडक भासिने समस्या दोहोरिँदै आएको छ।

उनका अनुसार इकोमा सडक खुले पनि लिपिङको समस्या समाधान नभएसम्म तातोपानी नाका पूर्ण रूपमा सहज हुने अवस्था छैन।

‘अस्थायी रूपमा आवागमन खुले पनि लिपिङको सडक मर्मत तथा चीनतर्फको पहिरो हटाउने काम नहुँदासम्म नाका सहज रूपमा सञ्चालन हुने अवस्था छैन,’ श्रेष्ठले भने।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार २१:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।