Logo

राजनीति

लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज शपथ लिँदै



बुटवल । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा दिउँसो ३ः२५ बजे प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष नवनियुक्त मन्त्रीहरूले शपथ लिने कार्यक्रम तय भएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख घर्तीमगरले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।

पुनर्गठनअनुसार स्वास्थ्य मन्त्रीमा दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा कृष्णा कुश्मा थारू नियुक्त भएका छन्। उनीहरूले आज शपथ लिनेछन्।

मन्त्रिपरिषद् पुनर्गठनसँगै तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसअघि स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका घिमिरेलाई सामाजिक विकास तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयमा सरुवा गरिएको हो।

त्यस्तै सामाजिक विकासमन्त्री पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

एमालेका मुख्यमन्त्रीसहित चार, नेपाली कम्युनिष्ट पार्टीका तीन र जनता समाजवादी पार्टी नेपालका दुई मन्त्री रहने गरी भएको सत्ता साझेदारीको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।

केन्द्रमा भएको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै लुम्बिनीमा नेकपासँग सत्ता साझेदारी अघि बढाइएको हो।

८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, नेपाली कम्युनिष्ट पार्टीका १३, जसपा नेपालका ५, राप्रपाका ४, जनमत पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र १ जना स्वतन्त्र सांसद छन्।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलवार ०८:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।