काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कुसुम थापाले शेरबहादुर देउवा समूहका नेता दीपक खड्कालाई पैसा छ भन्दैमा अदालतका कर्मचारीदेखि श्रीमानसम्म मिलाएको छु भन्दै नहिँड्न चेतावनी दिएकी छन्।
कांग्रेसको आधिकारिकताका बिषयमा देखिएको विवादमा पूर्वसभापति शेरबहादुर देउवाको तर्फबाट सर्वोच्चमा मुद्दा लैजान भूमिका खेलेका खड्काले महाधिवेशन रोक्न समेत अदालतसम्मै साँठगाँठ मिलाइसेको भन्दै गरेको बृफिङ्गलाई लिएर थापाले यस्तो चेतावनी दिएकी हुन्।
सर्वोच्चबाट निस्सा पाएपछि देउवासँगै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हिजो पनि महाधिवेशन रोक्न माग गर्दै अर्को मुद्दा दायर गरेका छन्।
अदालतमा रिट दायर गर्नेदेखि अन्तरिम आदेश लिनेसम्मका प्रक्रियामा खड्काले अदालतसँग तालमेल मिलाएको भन्दै हिँडेको बिषय सार्वजनिक भएको थियो।
त्यसबारे उनले पूर्वमन्त्री समेत रहेका खड्कालाई भनेकी छन्, ‘राजनीतिक लडाइँ राजनीतिक तरिकाले लड्नुपर्छ र कानुनी लडाइँ कानुनी तरिकाले। तपाईँहरूले राजनीतिक कुरालाई बारम्बार कानुनी बनाउनुभएको छ, त्यो पनि केही छैन, हामी त्यो पनि सामना गर्छौँ ।’
उनले नेता खड्काले पहिला आफू जेल परेको बेला परेकाले उनीहरूले आधिकारिकता पाएको भन्दै हिँडेको जिकिर गरेकी छन्।
उनले थपेकी छन्, ‘तर केही समययता तपाईँले पहिला म जेलमा भएको बेला परेकाले उनीहरूले आधिकारिकता पाएका हुन्, नत्र म मेरो मुद्दाजस्तै सेटिङ गर्थेँ। अब योपालि त्यस्तो हुन नदिन मिलाइसकेँ, फलानी–फलानो श्रीमानलाई राति भेटेको छु, उनीहरूका मान्छे भेटिसकेँ, स्टे पनि आउँछ, आधिकारिकता पनि आउँछ भन्नुभएको रहेछ कहीँ कतै ।’
नेता खड्कासँग पैसा छ भन्ने कुरा आफूहरूले एक वर्षअघिको जेनजी आन्दोलनको बेलामा घरबाट उडेको देखेको बताएकी छन्।
उनले थपेकी छन्, ‘थाहा छ तपाईँसँग धेरै पैसा छ भन्ने एक वर्षअघि जेनजी आन्दोलनकै बेलाको भिडियोमा देख्यौँ हामीले पनि। तर छ भन्दैमा अदालतका कर्मचारीदेखि श्रीमानसम्म मिलाएको छु भन्दै नहिँड्नुहोला। तपाईँको कारणले सोझा मान्छेकै न्यायालयप्रतिको विश्वसनीयता घट्छ। न्यायालयको गरिमा जोगाउने जिम्मा तपाईँ–हामी सबैको हो।’
















प्रतिक्रिया