काठमाडौं । मुलुकको परराष्ट्र नीति र कूटनीतिक मर्यादालाई पूर्ण रूपमा बेवास्ता गर्दै लामो समयदेखि विभिन्न देशमा राजदूत पद रिक्त राखिएको भन्दै वर्तमान सरकारको कडा आलोचना भएको छ। नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान गुरुङले एक विज्ञप्ति जारी गर्दै यस विषयमा नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गम्भीर ध्यानाकर्षण गराएका छन् ।
विभिन्न मुलुकहरूमा समयमै राजदूत नियुक्त नहुँदा मित्रराष्ट्रहरूसँगको द्विपक्षीय सम्बन्धमा अनावश्यक चिसोपन आउने तथा अन्तरदेशीय सम्बन्धमा गहिरो दरार उत्पन्न हुने खतरा बढेको उनले औंल्याएका छन् । विश्व मञ्चमा देशको प्रभावकारी उपस्थिति र प्रतिनिधित्व कमजोर हुँदा महत्त्वपूर्ण राष्ट्रिय एजेन्डा तथा कूटनीतिक लबिइङमा समेत प्रतिकूल असर पुगेको नेता गुरुङको ठहर छ ।
राज्यको संवेदनशील अङ्ग र कूटनीतिक नियोगहरूलाई लामो समयसम्म नेतृत्वविहीन बनाउनुले वर्तमान सरकारको कार्यक्षमता र सुशासनप्रतिको प्रतिबद्धतामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तसर्थ, मुलुकको राष्ट्रिय हित र दीर्घकालीन कूटनीतिक मर्यादालाई सर्वोपरी राख्दै यथाशीघ्र रिक्त रहेका विभिन्न देशका राजदूत पदहरूमा योग्य, सक्षम र व्यावसायिक व्यक्तिहरूको नियुक्ति गर्न नेपाल सरकार र रास्वपालाई तत्काल पहलका लागि उनले जोडदार माग गरेकाे छ।
















प्रतिक्रिया