काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले प्रसारण क्षेत्रले बदलिँदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता, सार्वजनिक उत्तरदायित्व, समावेशिता र नागरिकको पहुँचलाई केन्द्रमा राख्नुपर्ने बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको सहआयोजनामा एसिया–प्रशान्त प्रसारण विकास संस्था (एआईबीडी) को २४औँ साधारणसभा तथा एसिया–प्रशान्त क्षेत्रीय मिडिया कार्यशालाको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री तिमल्सिनाले अबको प्रसारणलाई परम्परागत माध्यम र शैलीमा मात्र सीमित गर्न नहुने बताएका हुन् ।
डिजिटल प्रविधि, मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाल, स्ट्रिमिङ, पोडकास्ट, कृत्रिम बौद्धिकता तथा तथ्याङ्कमा आधारित सञ्चारले प्रसारणको स्वरूप नै परिवर्तन गरिरहेको उनले बताए ।
मन्त्री तिमल्सिनाले नेपालको सामुदायिक रेडियो अभ्यासलाई प्रसारण क्षेत्रको विशिष्ट उपलब्धिका रूपमा चित्रण गर्दै सामुदायिक रेडियोहरू केवल रेडियो स्टेशन मात्र नभई समुदायका आवाज, स्थानीय लोकतन्त्रका संवाहक र नागरिकका साझा सम्पत्ति भएको बताए ।
‘स्थापनाकालदेखि नै सामुदायिक रेडियोले राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका विभिन्न चरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ उनले भने ।
एसिया–प्रशान्त प्रसारण विकास संस्था (एआईबीडी) का महासचिव फिलोमिना प्रागसमले सामुदायिक रेडियो प्रसारक सङ्घले नेपालमा एआईबीडीको २४औँ साधारणसभा तथा एसिया–प्रशान्त क्षेत्रीय मिडिया कार्यशाला आयोजना गर्ने नेतृत्व लिएर नेपाली प्रसारकहरू अझ सशक्त रहेको उदाहरण प्रस्तुत गरेको बताए ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गोलाम सरवारले सार्क मुलुकमा नेपालको सामुदायिक रेडियो प्रसारण अझै पनि महत्वपूर्ण रहेको बताए ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका अध्यक्ष अर्जुन गिरीले अकोराबमाथि विश्वास गर्दै एआईबीडीले सम्मेलन र कार्यशाला आयोजना गर्ने महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुसी व्यक्त गरे ।
सार्वजनिक सेवा प्रसारण (पीएसबी) का कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले प्रसारण जगतमा देखिएका चुनौतीको सामना गर्न तथा एकअर्काबीच संवाद र सहकार्य बढाउन एआईबीडीको साधारणसभा तथा कार्यशालाले सहयोग पु¥याउने बताए ।
कार्यशालाअन्तर्गत हिजो पहिलो दिन संसदमा पारदर्शिता, खुलापन र जनसहभागिता बढाउन सञ्चारमाध्यमको भूमिका, समाचारमा तथ्य जाँच र यसका लागि एआईको उपयोग, बालबालिकाको डिजिटल सुरक्षा तथा अनलाइन दुरुपयोग रोक्न सञ्चारमाध्यमको भूमिका र बाल पोषणमा सञ्चारमाध्यमको भूमिका विषयमा सरोकारवालाका प्रतिनिधिबीच छुट्टाछुट्टै छलफल भएको थियो ।
सम्मेलन तथा कार्यशालामा विभिन्न ४० देशका ५० भन्दा बढी प्रसारण विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी भएका छन् । नेपालबाट पनि प्रसारण क्षेत्रसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायका एक सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।
















प्रतिक्रिया