काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले न्याय माग्दै सर्वोच्च अदालत पुगेको विषयलाई लिएर आफू र केही व्यक्तिको नाम जोडेर ‘अदालत सेटिङ’ गरिएको भन्दै भइरहेको प्रचारप्रति आपत्ति जनाएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले स्वतन्त्र न्यायपालिकाप्रति अविश्वास पैदा गर्ने उद्देश्यले नियोजित रूपमा यस्तो प्रचार गरिएको दाबी गरेका छन् ।
‘न्याय खोज्दा उल्टै स्वतन्त्र न्यायपालिकाको मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले केही व्यक्ति तथा समूहले नियोजित रूपमा अदालत सेटिङ गरेको भन्दै मेरो समेत नाम जोडेर गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन् ।
खड्काले यस्तो प्रचारलाई ‘कुप्रचार’ भन्दै अदालतको गरिमा घटाउने योजनाबद्ध प्रयासप्रति खेद व्यक्त गरेका छन् । उनले सञ्चारमाध्यमलाई समेत यस्ता प्रचारप्रति सचेत रहन आग्रह गरेका छन् ।
यसअघि कांग्रेसकी केन्द्रीय सदस्य कुसुम थापामगरले भने खड्काले आफ्नो पक्षमा अदालतबाट आदेश आउने दाबी गर्दै हिँडेको आरोप लगाएकी थिइन् ।
थापामगरले सामाजिक सञ्जालमा खड्काले अदालतमा ‘सेटिङ’ मिलाइसकेको र आफूहरूको पक्षमा ‘स्टे’ तथा आधिकारिकता आउने बताएको दाबी गरेकी थिइन् ।
उनले खड्काले अदालतका ‘कर्मचारीदेखि श्रीमान्सम्म’ मिलाएको भन्दै अभिव्यक्ति नदिन चेतावनीसमेत दिएकी थिइन् ।
खड्काले भने आफू न्यायका लागि अदालत पुगेको विषयलाई आधार बनाएर स्वतन्त्र न्यायपालिकामाथि नै प्रश्न उठ्ने गरी प्रचार गरिएको भन्दै त्यसलाई अस्वीकार गरेका छन् ।
















प्रतिक्रिया