Logo

समाचार

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति



ओखलढुंगा  । सिद्धिचरण नगरपालिका–४ चार्खुमा विद्युत् तार सर्ट भएर आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्।

मंगलबार साँझ स्थानीय कोटमाया कार्कीको ढुंगामाटोले बनेको र खरको छानो भएको दुईतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

आगो फैलिएर उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको प्रहरी निरीक्षक शेखरकुमार साहले बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट कोटमाया कार्कीको घरसहित अन्नपात, भाँडावर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो देखिने गहना र २० हजार रुपैयाँ नगद जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उनको करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

त्यस्तै, ज्ञानकुमारी कार्कीको घरसँगै अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो देखिने गहना र ५० हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ। उनको करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरी निरीक्षक साहले जानकारी दिए।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार ०७:११   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।