काठमाडौं । करिब एक दशकदेखि व्यावसायिक रूपमा सञ्चालनमा नरहेको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) पुनः सञ्चालनमा आउने तयारी अघि बढेको छ। कम्पनीले अनुमतिपत्र नवीकरणको प्रक्रिया अघि बढाएसँगै पुनः दूरसञ्चार बजारमा प्रवेश गर्ने तयारी थालेको हो।
यूटीएलले लाइसेन्स नवीकरणका लागि गत जेठ १९ गते नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन दिएको थियो। प्राधिकरणका अनुसार कम्पनीको आधारभूत टेलिफोन सेवाको पहिलो १० वर्षे अनुमतिपत्र अवधि आगामी भदौ १९ गते समाप्त हुँदैछ। नवीकरणका लागि म्याद सकिनुभन्दा तीन महिनाअघि निवेदन दिनुपर्ने व्यवस्थाअनुसार कम्पनीले आवेदन दिएको हो।
लाइसेन्स नवीकरणको प्रक्रिया अघि बढाइरहेको यूटीएलले सञ्चालन पुनः सुरु गर्न ठूलो लगानी भित्र्याउने तयारीसमेत गरेको छ। कम्पनीमा २० प्रतिशत स्वामित्व रहेको नेपाल भेन्चर्सले १५ अर्ब रुपैयाँ विदेशी ऋण लगानीका रूपमा भित्र्याउन नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग्दै निवेदन दिएको छ। उक्त निवेदनको बोधार्थ नेपाल दूरसञ्चार प्राधिकरणलाई समेत दिइएको छ।
करिब एक दशकदेखि सेवा सञ्चालनमा नरहेको कम्पनीमा यति ठूलो रकम विदेशी ऋणका रूपमा भित्र्याउने प्रस्तावले यूटीएललाई पुनः सञ्चालनमा ल्याउने योजना अघि बढिसकेको संकेत गरेको छ।
तर, यूटीएलको पुनरागमन सहज भने छैन। कम्पनीमाथि पुरानो बक्यौता तथा नियामकीय दायित्व ठूलो रहेको छ। यसअघि प्राधिकरणले यूटीएलले नवीकरण शुल्क तथा पुरानो बक्यौता नबुझाएको जनाएको थियो। कान्तिपुरका अनुसार कम्पनीले कोभिड–१९ को प्रभाव र वैदेशिक लगानी वृद्धि हुने आधार देखाउँदै नवीकरणमा सहुलियतसमेत मागेको थियो।
पछिल्लो विवरणअनुसार यूटीएलमाथि सरकार तथा प्राधिकरणलाई तिर्नुपर्ने दायित्व ३० अर्ब रुपैयाँभन्दा बढी पुगेको दाबी सार्वजनिक भएको छ। यस्तो अवस्थामा प्रस्तावित १५ अर्ब रुपैयाँ विदेशी ऋणबाट कम्पनीले पुरानो दायित्व व्यवस्थापनसँगै नयाँ नेटवर्क र सेवा विस्तारमा कति रकम परिचालन गर्छ भन्ने विषय महत्वपूर्ण बन्नेछ।
यूटीएलले सन् २०१६ मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र पाएको थियो। तर, अनुमतिपत्र पाएपछि पनि कम्पनीले अपेक्षित रूपमा सेवा विस्तार गर्न सकेन र लामो समयदेखि व्यावसायिक सञ्चालनमा छैन। नेपाल दूरसञ्चार प्राधिकरणको अभिलेखमा समेत यूटीएलको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र २०७३ भदौ २० मा जारी भएको उल्लेख छ।
नेपालमा हाल नेपाल टेलिकम र एनसेल मात्रै प्रमुख मोबाइल सेवा प्रदायकका रूपमा सञ्चालनमा रहेकाले यूटीएलको सम्भावित पुनरागमनले दूरसञ्चार बजारमा प्रतिस्पर्धाको बहसलाई समेत नयाँ ढंगले अघि बढाउने देखिन्छ। यूटीएलसहित सीजी टेलिकम र वर्ल्डलिंक नयाँ वा थप दूरसञ्चार सेवाप्रदायकका रूपमा बजारमा आउन इच्छुक देखिएका छन्।
अब यूटीएलले लाइसेन्स नवीकरणका लागि आवश्यक शुल्क तथा पुरानो दायित्व कसरी व्यवस्थापन गर्छ र १५ अर्ब रुपैयाँ विदेशी ऋण लगानीलाई कसरी परिचालन गर्छ भन्नेमा कम्पनीको पुनरागमन निर्भर हुनेछ।
















प्रतिक्रिया