काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को घडीमा उद्धार र राहतमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै सभापति लामिछानेले प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै संयमित र जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेका हुन् ।
लामिछानेले पार्टीको स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सम्पूर्ण सदस्यहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी स्वयंसेवी कार्यमा सहभागी हुन आह्वान गरेका छन् । उनले भनेका छन्, ‘विपद्को यस घडीमा हामी सबैको एउटै प्राथमिकता हो-नागरिकको जीवन रक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग ।’
संवेदनशील समयमा सामाजिक सञ्जालमा अप्रमाणित सूचना र अफवाह नफैलाउन सभापति लामिछानेले सबैमा सचेत गराएका छन् ।
















प्रतिक्रिया