सुर्खेत । डोल्पाको काइके गाउँपालिकाले रसुवाको टिमुरेमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

काइके गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेस्थित भोटेकोशी नदीमा तिब्बतबाट आएको ठूलो बाढीका कारण भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गरिएको छ ।

विज्ञप्तिमा बाढीका कारण थप क्षति हुन सक्ने भन्दै रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा जान तथा आफू सुरक्षित भएर बस्न आग्रह गरिएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धार र राहत वितरणको आवश्यकता रहेको भन्दै गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको जनाएको छ । विपद्को कठिन समयमा मानवीय सहयोग र सहकार्यको भावना अभिव्यक्त गर्दै काइके गाउँपालिकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु १ लाख सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो ।

गाउँपालिकाले बाढी तथा अन्य विपद्का घटनाबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सबै पक्षले आवश्यक सहयोग र सहकार्य गर्नसमेत आग्रह गरेको छ ।

काइके गाउँपालिकाका अध्यक्ष अंगदकुमार शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपद्को समयमा नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको छ ।