गोरखा । भोटेकोशी नदीमा आएको बाढीपछि गोरखातर्फ त्रिशूली नदीको किनारमा आठ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गोरखा र धादिङको सीमावर्ती क्षेत्रमा ती शव भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार गण्डकी गाउँपालिका–८ धवादीघाटस्थित नदी किनारमा एक पुरुषको शव फेला परेको छ। गण्डकी–६ भुम्लिचोक, गण्डकी–१ बुट्टार र गण्डकी–४ फेवाटारमा पनि एक–एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
त्यस्तै गण्डकी–७ ज्यामिरेघाटमा एक पुरुषको शव तथा सहिदलखन गाउँपालिका–३ सिलिङटारस्थित नदी किनारमा तीन पुरुषको शव फेला परेको श्रेष्ठले बताए।
बाढीका कारण गण्डकी गाउँपालिका–१ बुटारमा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनामा समेत बाढी पसेको छ। आयोजनाका निरञ्जन रेग्मीका अनुसार त्यहाँ कार्यरत मजदुर तथा उपकरणलाई सुरक्षित स्थानमा सारिएको छ।
भोटेकोशीमा आएको बाढीले पृथ्वीराजमार्गसँग गोरखा जोड्ने दुईवटा झोलुङ्गे पुल बगाएको छ। गण्डकी–८ धवादीघाट र धादिङको चौकीटार जोड्ने तथा गण्डकी–७ इटार र चौकीटार जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको प्रहरीले जनाएको छ।
त्यस्तै सहिदलखन गाउँपालिका–३ सिलिङटार र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुल पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
बाढीले गण्डकी गाउँपालिका–७ धवादीघाटको पुलसँगै हिक्लुङघाट र पृथ्वीराजमार्गअन्तर्गत फिस्लिङ पुलमा समेत क्षति पुर्याएको छ। बेनीघाट–सिउरेनटार जोड्ने मोटरेबल पुलमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।
















प्रतिक्रिया