काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न रिक्त पदमा करार सेवामार्फत कर्मचारी पदपूर्ति गर्ने भएको छ। बैंकको केन्द्रीय कार्यालयअन्तर्गत मानव संसाधन व्यवस्थापन विभागले ३४ जना कर्मचारीका लागि अनलाइन दरखास्त आह्वान गरेको हो।
बैंकले रक्षक, सिपाही, सवारी चालक, डिस्पेन्सरी र कार्यालय सहयोगी पदमा कर्मचारी माग गरेको छ। सूचनाअनुसार रक्षक पदमा एक, सिपाहीमा चार, हल्का सवारी चालकमा सात, बस चालकमा तीन, डिस्पेन्सरीमा दुई र कार्यालय सहयोगी पदमा १७ जना माग गरिएको छ।
रक्षक पदका लागि एसईई वा सो सरह उत्तीर्ण गरी नेपाली सेनाबाट जमदार वा सुवेदार पदबाट निवृत्त भएको हुनुपर्नेछ। सिपाही पदका लागि कक्षा ८ उत्तीर्ण भई नेपाली सेनाबाट हुड्डा, अमलदार, प्युठ वा सिपाही पदबाट निवृत्त भएको हुनुपर्ने बैंकले जनाएको छ।
त्यस्तै, हल्का सवारी चालकका लागि कक्षा ८ उत्तीर्ण हुनुका साथै कार वा जिप चालकका रूपमा सात वर्षको अनुभव र सम्बन्धित निकायबाट जारी चालक अनुमतिपत्र आवश्यक पर्नेछ।
बस चालक पदका लागि कक्षा ८ उत्तीर्ण गरी ट्रक वा बस चालकका रूपमा सात वर्षको अनुभव तथा नवीकरण भएको चालक अनुमतिपत्र हुनुपर्नेछ।
डिस्पेन्सरी पदका लागि स्टाफ नर्स वा डिप्लोमा इन फार्मेसी उत्तीर्ण गरी कम्तीमा पाँच वर्षको कार्यअनुभव आवश्यक छ। कार्यालय सहयोगी पदमा भने कक्षा ८ उत्तीर्ण भई सरकारी वा वित्तीय संस्थामा कार्यालय सहयोगीका रूपमा काम गरी निवृत्तिभरण प्राप्त गरिरहेको व्यक्ति योग्य हुने सूचनामा उल्लेख छ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले भदौ ९ गतेदेखि भदौ २३ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट www.nrb.org.np को ‘Career’ अन्तर्गत रहेको ‘Online Portal for Contract Application’ मार्फत पेस गर्नुपर्नेछ।

















प्रतिक्रिया