Logo

प्रमुख समाचार

बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग गर्ने आइएफआरसीको घोषणा



काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार तथा पुनःस्थापनाका लागि करिब १९ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

आइएफआरसीले तत्काल मानवीय सहायता परिचालनका लागि १२ लाख अमेरिकी डलर अर्थात् करिब १८ करोड ९६ लाख २२ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने जनाएको हो।

नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक तथा आपत्कालीन प्रतिकार्य टोली प्रभावित क्षेत्रमा परिचालित भई खोज, उद्धार र राहत वितरणमा जुटिसकेको आइएफआरसीले जनाएको छ। महासंघले विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन निरन्तर सक्रिय रहन आग्रहसमेत गरेको छ।

आइएफआरसीका महासचिव जगन चापागाईंले भोटेकोशी बाढीको प्रतिकार्यलाई सुदृढ गर्दै प्रभावितलाई तत्काल मानवीय सहायता पुर्‍याउन आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले नेपाल रेडक्रस र राष्ट्रिय निकायसँगको समन्वयमा आवश्यकताअनुसार प्रभावित समुदायका लागि थप सहयोग परिचालन गर्न आइएफआरसी तयार रहेको बताएका छन्।

‘आइएफआरसी नेपाल रेडक्रस र राष्ट्रिय निकायहरूसँगको समन्वयमा आवश्यक पर्दा समुदायलाई थप सहयोग परिचालन गर्न तयार छ,’ उनले भनेका छन्।

उनका अनुसार रेडक्रसका स्वयंसेवक प्रभावित समुदायमा पुगेर प्रारम्भिक राहत तथा अन्य आवश्यक सहयोगमा सक्रिय छन्।

बाढीमा ठूलो मानवीय क्षति भएको, केही व्यक्ति बेपत्ता भएको तथा भौतिक संरचनामा क्षति पुगेकोप्रति महासचिव चापागाईंले दुःख व्यक्त गर्दै मृतकका परिवार तथा प्रभावितप्रति समवेदना प्रकट गरेका छन्।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार ०८:४९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।