काठमाडौं । बीमा ऐन, २०७९ विपरीतको कसुर गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेललाई पक्राउ गरेको छ ।
नेपाल बीमा प्राधिकरणको निरीक्षण प्रतिवेदनका आधारमा पौडेललाई बीमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
प्राधिकरणले कुपण्डोल, ललितपुरस्थित ट्रस्ट इन्स्योरेन्स ब्रोकर प्रालिमा गरेको निरीक्षणका क्रममा उक्त कसुरसँग सम्बन्धित विषय फेला पारेको जनाएको छ ।
३९ वर्षीया पौडेललाई काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर भदौ ११ गते बबरमहलबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेकी पौडेलमाथि बीमा ऐनअन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
















प्रतिक्रिया