Logo

समाचार

खुल्यो काठमाडाैँ उपत्यकाको प्रमुख लाइफलाइन



काठमाडौं । रसुवा बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग शुक्रबार साँझदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ।

सडक विभागका अनुसार राजमार्गअन्तर्गत मलेखुनजिकका पोखरी, बाँगे र गलौंदी क्षेत्रमा थुप्रिएको लेदो हटाएपछि यातायात सुचारु गरिएको हो।

बाढीपछि गल्छी–बैरेनी सडकखण्ड लेदोमाटोले पुरिँदा यातायात प्रभावित भएको थियो। उक्त क्षेत्रमा लेदो हटाएर बिहीबारदेखि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको थियो।

त्यस्तै, पुल बगाएर सडकसमेत पुरिएको जरिखेत क्षेत्रमा पनि लेदो हटाउने काम सम्पन्न भएसँगै यसअघि नै यातायात सञ्चालनमा आइसकेको विभागले जनाएको छ।

राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकाको आपूर्ति प्रणाली सहज हुने अपेक्षा गरिएको छ। पृथ्वी राजमार्गलाई काठमाडौं उपत्यकाको प्रमुख ‘लाइफलाइन’का रूपमा लिइन्छ।

 

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार १८:४४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।