Logo

अर्थ

बाढी प्रभावित क्षेत्रमा अर्थमन्त्री वाग्लेको ढाडस: ‘स्रोतको अभाव हुन दिँदैनौं’



नुवाकोट । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा पुगेर उद्धार, राहत तथा पुनर्स्थापनाको स्थलगत अवस्था निरीक्षण गरेका छन् । उनले विपद्मा परेका नागरिकको उद्धार, उपचार र पुनर्स्थापनाका लागि केन्द्र सरकारबाट आवश्यक स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

शनिबार बिहान नुवाकोट सदरमुकाम विदुर पुगेका वाग्लेले नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘राहत तथा उद्धार कमाण्ड पोस्ट’ पुगेर उद्धार तथा राहत वितरणको अवस्थाबारे जानकारी लिएका थिए । उद्धार कार्यको नेतृत्व गरिरहेका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीमा हराइरहेका व्यक्तिको खोजी तथा जीवितै उद्धारलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराएका थिए ।

थापाका अनुसार बुधबारदेखि नै उद्धारमा सुरक्षाकर्मी परिचालन गरिएको छ । पछिल्लो समय नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारलाई उच्च प्राथमिकता दिइएको उनले बताए । विस्थापितका लागि अस्थायी बसोबास, खाद्यान्न तथा अन्य राहत सामग्री वितरणको कामसमेत भइरहेको जानकारी उनले अर्थमन्त्रीलाई गराएका थिए ।

बाढीका कारण क्षतिग्रस्त सडक तथा सम्पर्क विच्छेद भएका क्षेत्रमा तत्काल ‘बेलिब्रिज’ आवश्यक रहेकोबारे पनि सेनाका अधिकारीले जानकारी गराएका थिए ।

अर्थमन्त्री वाग्लेले उद्धार, उपचार र पुनर्स्थापनाका लागि सरकारबाट आवश्यक सहयोग उपलब्ध हुने बताए । ‘कुनै पनि कुराको अभाव महसुस नगर्नुहोस्, आवश्यक सहयोगका लागि निर्धक्क भएर समयमै भन्नुहोस्,’ उनले उद्धारमा खटिएका सुरक्षाकर्मीलाई भनेका थिए ।

वाग्लेले नेपाली सेनाको गौथली ब्यारेकस्थित हवाई उद्धार केन्द्र तथा राहत सामग्री संकलन र वितरण केन्द्रको समेत निरीक्षण गरेका थिए । त्यस क्रममा आफन्तजनको खोजीका लागि पुगेका पीडित परिवारसँग उनले भेट गरी उनीहरूको समस्या सुने ।

नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा परिवारका सदस्य फसेको भन्दै उद्धारका लागि आग्रह गर्न पुगेका परिवारजनलाई वाग्लेले सुरुङमा फसेकाहरूको उद्धार उच्च प्राथमिकतामा रहेको जानकारी दिए । उनले उद्धारमा खटिएका नेपाली सेना तथा अन्य सुरक्षा निकायमाथि विश्वास गर्न परिवारजनलाई आग्रह गरेका थिए ।

त्यसपछि वाग्ले बाढीले ठूलो क्षति पुर्‍याएको ढुंगे बजार पुगे । त्यहाँ भइरहेको उद्धार कार्यको अवलोकन गर्दै उनले प्रभावित परिवारसँग भेटेर क्षतिको अवस्था र तत्काल सरकारले गर्नुपर्ने कामबारे जानकारी लिए । ऐतिहासिक देवीघाट बजार पुगेर पनि उनले बाढीबाट भएको क्षतिको निरीक्षण गरेका थिए ।

देवीघाटमा स्थानीयसँग भेट गर्दै वाग्लेले हराएका आफन्तको खोजी, राहत, उपचार तथा पुनर्स्थापनामा सरकारले कुनै कसर बाँकी नराख्ने बताए । विपद्को यो कठिन अवस्थामा सरकार प्रभावित नागरिकको साथमा रहेको उनको भनाइ थियो ।

वाग्लेले गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत देवीघाट र जिलिङ जोड्ने क्षतिग्रस्त पक्की पुलको अवस्थासमेत निरीक्षण गरे । त्यसपछि तल्लो पिपलटारस्थित आयुर्वेदिक केन्द्र र चन्द्रज्योति स्कुलमा रहेको होल्डिङ सेन्टर पुगेर देवीघाटबाट उद्धार गरिएका स्थानीयसँग भेट गरेका थिए ।

बाढीमा बग्दै गरेको अवस्थामा उद्धार गरिएका स्थानीयको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले थप स्वास्थ्यलाभको कामना गरे । प्रभावितको उचित पुनर्स्थापना गर्ने प्रतिबद्धता जनाउँदै उनले स्वास्थ्य उपचारमा खटिएको सशस्त्र प्रहरीको चिकित्सक टोलीसँग पनि स्रोतसाधनको अवस्थाबारे जानकारी लिए ।

यसैबीच अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री डा. बिक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वसँग विपद्पछिको उद्धार, राहत, उपचार र पुनर्स्थापनाका विषयमा छलफल गरेका छन् ।

जिल्ला समन्वय समितिको हलमा आयोजित छलफलमा वाग्लेले केन्द्र सरकारबाट आवश्यक स्रोतसाधनको अभाव हुन नदिने बताएका थिए । विपद्को प्रतिकार्यमा आर्थिक स्रोतको अभाव हुन्छ कि भनेर चिन्ता नगरी प्रभावित नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउन उनले स्थानीय तह, जनप्रतिनिधि तथा राजनीतिक दललाई आग्रह गरे ।

‘केन्द्र सरकारले सबैखाले स्रोत र साधन उपलब्ध गराउँछ । स्रोतको अभाव हुन्छ कि भनेर नसोची प्रभावित नागरिकलाई कुनै पनि कुराको अभाव हुन नदिने गरी काम गर्नुपर्छ,’ वाग्लेको भनाइ थियो ।

दिनभरको उद्धार, राहत तथा पुनर्स्थापनाको अवस्थाबारे अन्तिम सुरक्षा ब्रिफिङ लिन उनी विदुरस्थित नेपाली सेनाको कमाण्ड सेन्टरसमेत पुगे । त्यहाँ गृहमन्त्री सुदन गुरुङ, सञ्चारमन्त्री तिमल्सिना तथा नेपाली सेनाका उच्च अधिकारीले विपद्पछिको उद्धार तथा राहत कार्यबारे जानकारी गराएका थिए ।

ब्रिफिङअनुसार अहिले जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले मृतकको शव संकलन, बेपत्ताको खोजी तथा राहत वितरणलाई तीव्रता दिएको अधिकारीहरूले जानकारी गराएका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आईतवार १०:२३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।