काठमाडौं। बागमती प्रदेश सरकारले बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका स्थानीय तहलाई उद्धार तथा राहतका लागि ३ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
आइतबार एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री किरण थापामगरले प्रदेश विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।
निर्णयअनुसार रसुवाका चार स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिमार्फत १ करोड रुपैयाँ दिइनेछ। नुवाकोटका लागि १ करोड, धादिङका लागि ५० लाख र चितवनका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।
प्रदेश सरकारले विपद्का कारण मृत्यु भएका व्यक्तिको अन्त्येष्टिका लागि प्रतिमृतक २५ हजार रुपैयाँ दिने निर्णयसमेत गरेको छ। उक्त रकम सम्बन्धित स्थानीय तहमार्फत मृतकका परिवारलाई उपलब्ध गराइने मुख्यमन्त्री थापामगरले बताए।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खाद्यान्न र अस्थायी आवासको समस्या देखिएका स्थानमा प्रदेश सरकारले खर्च बेहोर्ने गरी राहतको काम सुरु गरिसकेको उनले जानकारी दिए।
‘जहाँ खाद्यान्नको समस्या छ र जहाँ अस्थायी शिविर सञ्चालन भइरहेका छन्, त्यहाँ खानेकुरा तथा अस्थायी बसोबासका लागि लाग्ने खर्च प्रदेश सरकारले बेहोर्ने गरी काम सुरु गरेका छौं,’ उनले भने।
प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गर्दै तत्कालीन राहत तथा पुनःस्थापनाका काम अघि बढाइरहेको उनको भनाइ छ। प्रभावित क्षेत्रमा प्रदेश सरकारको प्रत्यक्ष उपस्थिति देखिने गरी आवश्यक राहतलाई प्राथमिकता दिइएको उनले बताए।
मुख्यमन्त्री थापामगरले संघीय सरकारले रसुवाका बाढीपीडितका लागि संकलन गरेको राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन नसकेको आरोप लगाए।
उनका अनुसार संघीय सरकारले संकलन गरेका राहत सामग्री नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेक र रसुवाको धुन्चेस्थित ब्यारेकमा राखिएको थियो।
प्रदेश तथा स्थानीय सरकारसँग पर्याप्त समन्वय नहुँदा राहत सामग्री प्रभावित नागरिकसम्म पुर्याउन र उद्धार कार्य प्रभावकारी बनाउन समस्या भएको उनले बताए।
आइतबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलपछि संघीय सरकारले संकलन गरेको राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गर्ने जिम्मेवारी बागमती प्रदेश सरकारलाई दिइएको मुख्यमन्त्री थापामगरले जानकारी दिए।
अब प्रदेश सरकारले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर ती सामग्री प्रभावित नागरिकसम्म पुर्याउने उनको भनाइ छ।
















प्रतिक्रिया